अर्थ

भन्सार चुहावट गर्ने प्रवृत्तिलाई क्षमा दिँदैनौँ : अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिंदै भन्सार चुहावट गर्ने प्रवृत्तिलाई क्षमा दिन नसकिने बताउनुभएको छ ।

आज विराटनगर पुग्नुभएका उहाँले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भन्नुभयो,“तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन ।

भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरुले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।”

मन्त्री डा महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट गर्नुभयो । उहाँको भनाइ थियो– कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रुपमा पूरा गर्नुहुनेछ ।

उहाँले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताउनुभयो । तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उहाँले निर्देशन दिनुभयो ।

मन्त्री डा महतले भन्नुभयो,“समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौँ, नियम कानुन अनुसार काम गरौँ हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.