रौतहटमा दुईजना कोरोना संक्रमित : एकजना १४ दिन क्वारेन्टाइनमा बसेर फर्केका थिए
मंगलबार नेपालमा थप दुईजना कोरोना भाइरस संक्रमित फेला परेका छन् । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले दिएको जानकारी अनुसार संक्रमित दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् ।
काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना उपचारपछि घर फर्किसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्