गण्डकीप्रदेश

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज (बुधबार) निर्णय हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा नेकपा (एमाले)का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई अवरोध गरेपछि बैठक स्थगन भएको थियो ।

परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षणपछि बैठक शुरु भएको हो । बैठकमा प्रस्ताव सम्बन्धमा छलफल चलिरहेको छ ।

यसअघि कोरोना परीक्षणका क्रममा प्रदेशका तीन जना सांसद र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भए पनि बैठक भने चलिरहेको छ । सभामुख नेत्रनाथ अधिकारीले ३ सांसद र एक कर्मचारीलाई संक्रमण भएको पुष्टि गर्दै प्रदेश सभाको बैठक जारी रहने बताउँदै कोरोना देखिँदैमा संसदको कार्यसूची तलमाथि नहुने बताउनुभयो ।

प्रदेशसभा सचिवालयले अविश्वास प्रस्तावमा संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.