माङ्गलिक युवतीसंग विवाह गर्न किन डराउँछन् युवाहरु ?
माङ्गलिक योग भएका व्यक्ति अशुभ हैन उच्च मनोवृत्ति र बहादुर हुन्छन्
नेपाली समाजमा विवाहको लग्न सुरु भएको छ । विवाहको पनि भएकाले विवाहसंग जोडिएको एउटा अनि महत्वपूर्ण पक्ष कुण्डली मिलान रहेको छ । कुण्डलीमा युवती माङ्गलिक भए विवाहका लागि अयोग्य मानिन्छ ।
यसको विशेष अर्थ छ । शास्त्रीय रुपमा माङ्गलिक युवती अत्यन्त शक्तिशाली र शुभ हुने विश्वास गरिए पनि अभ्यासमा यसलाई अशुभ मानियो, जुन शतप्रतिशत गलत छ ।
नेपाल, भारत जस्ता वैदिक सनातन धर्म संस्कृतिमा अभ्यस्त समाजमा विवाह गर्नुअघि कुण्डली हेरेर बर बधु एक अर्कामा सुहाउँदो अथात् सामञ्जस्य छ कि छैन भनेर हेरिन्छ । युवाको ग्रह बलियो भएर युवतीको कमजोर भए त्यसलाई सहज मानिन्छ भने युवतीको ग्रह बलियो भए विवाह गर्न नमिल्ने भनिन्छ ।
हामी सबैले मङ्गल भनेको के हो भनेर बुझ्नुपर्छ । मङ्गलको अर्थ अशुभ हैन । मङ्गल शब्दले ग्रहहरूमध्ये मङ्गल ग्रहको नाम र सातवटा बारमध्ये तेस्रो क्रममा आउने मङ्गलबारलाई पनि सङ्केत गर्दछ । उक्त शब्दमा ‘इक’ प्रत्यय गाँसेर माङ्गलिक शब्दको निर्माण हुन्छ । विशेषण पदवर्गको माङ्गलिक शब्दको अर्थ पनि श्रेष्ठ र शुभ नै हुन्छ ।
माङ्गलिक योगका कारण पति र पत्नीको सम्बन्ध नाश हुन्छ वा पतिको मृत्यु हुन्छ भन्ने भ्रम छ । कोशीय आधारमा माङ्गलिक योगको अर्थ नराम्रो छैन, तर हामीकहाँ यो शब्द सुन्नासाथ विशेषतः विवाहयोग्य सन्ततिका अभिभावकहरू झस्कने गर्दछन् । वास्तवमा माङ्गलिक योग भन्नासाथ आत्तिनु र झस्किनु आवश्यक छैन, अनि यो अशुभ कारक योग पनि होइन ।
शास्त्रीय आधारमा माङ्गलिक युवती शक्तिशाली, अर्थात् प्रभावशाली रहने भन्ने हुन्छ । यसै कारण कोही पनि अभिभावक आफ्नो छोरा श्रीमतीको अधिनमा नपरोस् भन्ने भ्रमका कारण माङ्गलिक युवतीसंग विवाह गर्न डराउँछन् ।
यथार्थ त के हो भने माङ्गलिक युवती भित्रिने घरमा धेरै परिवर्तन आउँछ तर, रुढीग्रस्त मान्यताका कारण बुहारीलाई शक्तिशाली देख्न नचाहनेहरुले यसको कुतर्क लगाएर माङ्गलिकको तात्विक अर्थ नै बदलिएको छ । यसै कुतर्कका पछि लागेर आमरुपमै माङ्गलिक भनेको अशुभ मात्र हैन कि ‘पोई टोकुवा’ समेत भनिन्छ ।
अर्को यथार्थ के हो भने- माङ्गलिक युवतीसंग विवाह गर्ने युवक पनि माङ्गलिक नै भए दुई मिलेर निकै ठूलो उन्नति गर्ने मात्र हैन, समाजमा आफ्नो प्रभावले नियन्त्रणमा लिन सक्छन् । तर माङ्गलिकको अर्थ अशुभ लगाएर यस्तो ग्रह भएकी युवतीसंग विवाह गर्न हुँदैन, मृत्यु हुन्छ जस्ता अनर्थकारी व्याख्या गर्ने गरिन्छ ।
त्यसो भए किन अशुभ भनियो र किन त्यस्ता युवतीसंग विवाह गर्न हुँदैन भनियो ? ज्योतिषशास्त्र अनुसार माङ्गलिक योग भएको मान्छे निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी, सेवाभावयुक्त उच्च मनोवृत्ति र बहादुर हुन्छन् ।
यसको अर्थ माङ्गलिक योग भएको व्यक्ति चिप्लो घस्न जान्दैन, चाकरी गर्दैन, उच्च मनोवृत्तिको हुन्छ । यस्तो स्वभाव भएको व्यक्तिलाई गैरमाङ्गलिक अर्थात् कातर, चिप्ला कुरा गर्ने, डरछेरुवा, चाकरीबाज व्यक्तिले थेग्न र व्यवहार गर्न सक्दैनन् ।
तसर्थ माङ्गलिक युवतीसंग विवाह गरे उसको नियन्त्रणमा रहनुपर्छ भनेर पुरुषहरु हावी हुनकै लागि माङ्गलिकलाई अशुभ भन्दै गलत अर्थ लगाइयो । वास्तवमा जुनसुकै व्यक्तिको जन्मकुण्डलीमा जम्मा बाह्रवटा कोठा हुन्छन् ।
त्यसमध्ये पहिलो कोठालाई लग्न भन्ने गरिन्छ । लग्नबाट गन्दै क्रमशः दोस्रो, तेस्रो गर्दै बाह्रौं भावसम्मको गणना गरिन्छ । तिनै बाह्रवटा भावमध्ये पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा मङ्गल ग्रहको उपस्थिति भएको अवस्था नै माङ्गलिक योग हो ।
हाम्रा ग्रहहरुमध्ये मङलग्रहमा आइरन अक्साइड अत्याधिक छ र सौर्य प्रणालीको सबैभन्दा ठूला ज्वालामुखीहरु पनि रहेकाले यो ग्रह निकै शक्तिशाली मानिन्छ । त्यहाँ नियमित शक्ति प्रवाह भैरहन्छ । मंगलग्रह आन्तरिक शक्तिको कारक पनि हो ।
तसर्थ ग्रह, योग, राशिमा विश्वास गर्ने समाजमा माङ्गलिक युवतीसंग विवाह गर्नुहुन्न किनभने उनीहरु एकदमै शक्तिशाली हुन्छन् र त्यस्ताको प्रभावले घरका सबै उसको अगाडि झुक्नुपर्छ भनेर माङ्गलिकलाई अशुभ भनेर स्थापित गर्न खोजियो । हामीले माङ्गलिक बुहारी भित्र्याउँदा अशुभ हैन, परिवारको मान, प्रतिष्ठा, इज्जत र पौरख बढ्छ भन्ने बुझ्नुपर्छ ।
प्रतिक्रिया राख्नुहोस्