प्रचूर सम्भावना भए किन भित्रिएन लगानी ?
काठमाडौंमा तेस्रो लगानी सम्मेलन चलिरहेको छ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको र लगानीको प्रचुर सम्भावना रहेकामा जोड दिए ।

सम्मेलनको उद्घाटपछि सञ्चालन भएको ‘सक्सेस स्टोरिज अफ इन्भेस्टमेन्ट इन नेपाल’ विषयक सत्रमा व्यवसायीहरुले नेपालमा आफूहरुले गरेका सफल व्यवसायका बारेमा जानकारी गराउँदै प्रचुर लगानीको सम्भावित बारेमा पनि धारणा व्याक्त गरे ।
दोस्रो मुख्य सत्रमा अध्यक्षता सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले गर्नुभएको थियो भने लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा लगानी बोर्डका सदस्य तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले नेपालको लगानीमैत्री वातावरणबारे जानकारी गराउँदै उपलब्ध श्रमिकको अवस्थाबारे प्रस्तुती दिनुभयो । साथै उहाँले नेपाल विश्वकै लागि पर्यटकको उत्कृष्ट गन्तव्य र नेपालको उदाउँदो डिजिटल अर्थतन्त्रमा लगानीका सम्भावनाबारे आफ्नो अनुभव सुनाउनुभएको थियो ।
त्यस्तै, कोकाकोलाको भारत तथा दक्षिण पश्चिम एसियाको सार्वजनिक मामिला तथा सञ्चार क्षेत्र हेर्ने उपाध्यक्ष देवयानी राज्यलक्ष्मी राणाले नेपालमा आफूहरुले गर्दै आएको व्यवसाय र सफलताका बारेमा अवगत गराउनुभएको थियो ।
एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आफूहरुले नेपालको जलविद्युत्को क्षेत्रमा ठूला–ठूला लगानी गरेको बताउँदै अगामी दिनमा थप लगानी ल्याउनका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ ।
यसै गरी, सिनोहाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक होउ जोङले आफूहरुले नेपालका जलविद्युत्लगायत ठूला पूर्वाधारमा काम गरेर चिनियाँ लगानी र प्रविधि तथा सीप नेपालमा भित्र्याएको उल्लेख गर्नुभयो ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लन मुखर्जीले आफ्नो कम्पनीले नेपालमा उत्पादनहरु बढाउँदै गरेको बताउँदै थप लगानीमैत्री वातावरण तयका लागि आग्रह पनि गर्नुभयो ।
मोघा इनर्जी इन्ड सब्सिडरिज, युएसएका उपाध्यक्ष सम्राट मोघाले लगानीका लागि नेपालले सहज वातावरण तय गरेको सकारात्मक अनुभव सुनाउनुभयो । साथै उहाँले नेपाल सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्य राखेको सन्दर्भमा जलविद्युत् क्षेत्रमा थप पूर्वाधार लगानी गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनमा अपार बजारको सम्भावना रहेको उल्लेख गर्दै स्वदेशी बस्तु उत्पादनमा लगानीको सम्भावना रहेको उल्लेख गर्नुभएको छ ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन भोलिसम्म चल्नेछ ।
सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा लगानीका निम्ति एक सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डको भनाइ छ ।
बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति सोकेसमा राखिएको परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छभने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्