कर्पोरेट/पर्यटन

पर्यटन प्रवद्र्धनमा महासङ्घ र बोर्डको सहकार्य

मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पछि दुवै संस्था पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्नेछन् ।

समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले आज महासङ्घ सचिवालयमा हस्ताक्षर गर्नुभएको हो । त्यसका लागि महासङ्घको पर्यटन विकास समितिले विशेष भूमिका निर्वाह गरेको हो ।

समझदारीअनुसार पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिको अवधारणा विकास गर्ने र त्यसको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य हुनेछ ।

त्यसैगरी नेपाली पर्यटनको श्रव्यदृश्यका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने, पर्यटनसँग सम्बन्धित सरोकारवालाको क्षमता विकास, सम्भावित पर्यटन उत्पादन (हिल स्टेशन, पार्कलगायत अन्य पर्यटकीय गतिविधि) मा सहकार्य हुनेछ ।

महासङ्घका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन यो सहमति कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष गोल्छाले समझदारीपत्रको अक्षरशः कार्यान्वयनको प्रतिबद्धता पनि जनाउनुुभयो ।

कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसँग आबद्ध सबै संस्थाको सहभागितामा छिट्टै एउटा बृहत् कार्यक्रम आयोजनाको प्रस्ताव पनि गर्नुभयो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले निजी क्षेत्रको छाता संस्थासँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । पर्यटन विकासमा महासङ्घका अध्यक्षले राख्नुभएका सुुझाव निकै मननीय भएकाले कार्यान्वयनमा लैजानेतर्फ पहल गर्ने विश्वास दिलाउनुभयो ।

सो अवसरमा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, पर्यटन तथा हवाई यातायात समितिका सदस्य, बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने, महासङ्घ सचिवालयका वरिष्ठ अधिकृतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.