राजनीति

चुनावको मुखमा उठेको ‘मि टु’को आरोप

स्थापितलाई 'मि टु'को प्रश्न सोध्ने युवती आफ्नो विद्यार्थी नभएको कलेजको प्रष्टोक्ति

बिहिबार काठमाडौंको नेशनल कलेजमा स्थानीय तहको निर्वाचनको सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई गरिएको एक प्रश्नले शैक्षिक निकायभित्रको सालिन छलफल उग्र हुन पुग्यो ।

विद्यार्थी र उम्मेदवारहरुबीच महानगरको समस्इा समाधान, वकास निर्माण महानगरीय सुविधाका विषयमा भैरहेको बहस एकाएक महिला यौन दुव्र्यवहारको एक प्रश्नले बिथोलिन पुगेको थियो ।

अन्तरक्रियामा एक सहभागी (जो कलेजकी विद्यार्थी हैनन्)ले काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितसँग एक युवतीले मि टुआरोप लागेको भन्दै यो प्रश्नको उत्तर नदिए तपाई यो कुर्सीमा बस्न योग्य हुनुहुन्न भनेर प्रश्न गरेपछि स्थापितले यो आरोपको खण्डन आफ्नै पाराले गरिरहनुभएको थियो ।

तर, अन्य केहीले पनि यही विषयलाई जोडतोडका साथ उठाएपछि स्थापित जंगिनुभयो र प्रमाणसहित आउन चुनौति दिनुभयो । वातावरण एकाएक युद्धमैदान जस्तै बन्यो ।

स्थापितको जवाफ थियो- “जबजब चुनाव आउँछ तबतब यो विषय उठाएर मलाई विवादमा तानिन्छ- यो राम्रो भएन । मैले यौन हिंसा नै गरेको भए अदालत छ, महिला आयोग छ, अन्य निकास पनि छ किन २५ वर्षसम्म किन चुप लागेको । प्रमाणसहित अदालत जानु पर्दैन ?”

आफूलाई आरोप लगाउने महिला नै अपराधी भएको प्रमाण आफूसंग रहेको र उनकै कारण महानगरका एक कर्मचारीले आत्महत्या समेत गरेको आरोप लगाउनुभयो ।

यसबीच कलेजले एक विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थामा भएको राजनीतिक र नीतिगत बहस अन्यत्रै मोडिएर कलेज समेत विवादित बन्न पुगेकोमा दुःख व्यक्त गर्दै स्थापितलाई प्रश्न गर्ने विद्यार्थी नेशनल कलेजको नभएको समेत स्पष्ट पारेको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ

आज २०७९ वैशाख १५ गते नेशनल कलेजले स्थानीय निकाय निर्वाचनका सम्बन्धमा काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फबाट समेत मेयरका उमेदवारहरूसँग राखेको छलफल कार्यक्रमका सन्दर्भमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारका बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त संवाद कार्यक्रममा काठमाडौं महानगरपालिकामा मेयरका उमेदवार मध्ये नेकपा (एमाले)का केशव स्थापित, विवेकशील साझाकी समीक्षा बाँस्कोटा र स्वतन्त्र उमेदवारहरू बालेन्द्र (बालेन) शाह र सुशील थापा उपस्थित हुनुहुन्थ्यो ।

नागार्जुन नगरपालिकामा मेयरका लागि स्वतन्त्र उमेदवारी दिनुभएका राजन कोइराला पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । काठमाडौं महानगरपालिकामा नेपाली कांग्र्रेसबाट मेयरका लागि उमेदवारी दिनुभएकी सृजना सिंहलाई समेत उपस्थित गराउने हाम्रो अथक प्रयास भने उहाँको व्यस्तताका कारण सफल हुन सकेन ।

उपस्थित सबैप्रति हामी कृतज्ञ छौं । विश्वभरि नै शैक्षिक संस्थामा हुने राजनीतिक र नीतिगत बहसलाई अत्यन्त महत्वका साथ लिइन्छ । उदाहरणका लागि अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा राष्ट्रपतिका उमेदवारबीच हुने बहस मध्ये धेरैजसो विश्वविद्यालयमा गर्ने गरिन्छ ।

शैक्षिक संस्थामा सचेत वर्ग हुन्छन् र त्यहाँ राजनीतिका गहन विषयहरूमा स्वस्थ र ज्ञानमा आधारित बहस हुनसक्छ भन्ने मान्यताका साथ यस्ता कार्यक्रम आयोजना गरिन्छन् । यसै सन्दर्भमा हाम्रा विद्यार्थीहरूको पहल र सक्रियतामा भएको यो कार्यक्रम नेपालमा पहिलो नभए पनि यसले एउटा मानक र उदाहरण स्थापित गर्ने विश्वास हामीले लिएका थियौं र छौं ।

नेपाली समाज, राज्य र जनजीविकाका महत्वपूर्ण विषयमा यस्ता संवाद र छलफल कलेजमा आगामी दिनमा पनि हामी गरिरहने छौं । आज झण्डै २ घण्टा ४५ मिनेट चलेको कार्यक्रममा वातावरण र पर्यावरण मैत्री विकास, सार्वजनिक खुल्ला क्षेत्रको व्यवस्थापन, सार्वजनिक सवारी, व्यवस्थित साइकल लेन र पैदल यात्री मैत्री बाटाघाटाका बारेमा उमेदवारका विचार र योजनाका बारेमा छलफल भएका थिए ।

साथै, कार्यक्रममा काठमाडौंको सामाजिक र सांस्कृतिक विकास, युवाका मुद्दा, महंगो हुँदै गएको निर्वाचन र त्यसले समग्रमा उमेदवार र राजनीतिमा पार्ने प्रभावका बारेमा छलफल समेत भएका थिए । यसमा उमेदवारले आफ्ना विचार व्यक्त गर्ने र विद्यार्थी र अन्य उपस्थितले प्रश्न र विचार राख्ने क्रम चलिरहेको थियो । छलफल वास्तविक मुद्दामा केन्द्रीत होस् भन्ने हाम्रो चाहना थियो । य

सै क्रममा त्यहाँ उपस्थित एकजना उमेदवारलाई लक्षित गरेर एक महिला सहभागीले यौन हिंसाका बारेमा राख्नुभएको प्रश्न र त्यसमा उमेदवारले दिनुभएको उत्तरका कारण हाम्रो सिंगै कार्यक्रममा भएका महत्वपूर्ण छलफल छायाँमा परेकामा हामी दुःखीत छौं । प्रश्नकर्ता महिला कलेजको विद्यार्थी नभए पनि उहाँको प्रश्न गर्न पाउने अधिकार र वाक स्वतन्त्रताको अधिकारको हामी सम्मान गर्छौं ।

महिला र यौन हिंसाको सवालमा मानविकी तथा समाज विज्ञानका विभिन्न विषय अध्ययन हुने यो कलेज बोली र व्यवहार दुवै अर्थमा शुन्य सहनशीलताको नीति अंगिकार गर्छ । तर यही राज्यको संविधान, ऐन र कानुनको परिधिमा रहनुपर्ने कलेजले निर्वाचन आयोग र न्यायालय जस्ता निकायले मानेका र स्वीकारेका विषय भन्दा बाहिर जान भने सक्तैन ।

यी निकायलाई कसरी स्वतन्त्र र पवित्र बनाउन सकिन्छ भन्ने विषयमा बहस हुन सक्ला तर यी निकायले गरेका र स्वीकारेका विधिसंमत निर्णयबाहिर गएर कसैलाई आक्षेप लगाउने र सामाजिक बहिस्करण गर्ने कार्य गर्न स्वाभाविक रुपमा कलेजले सक्तैन । उमेदवार हुने योग्यता निर्धारण गर्ने निर्वाचन आयोग र सम्मानित न्यायालयको अधिकारलाई हामीले सम्मान गर्नैपर्छ ।

प्राज्ञिक संस्थामा उपस्थित भएर कार्यक्रममा भाग लिने प्रत्येकले संस्थाको गरिमाको खातिर पनि यस्ता विषयमा ध्यान पु¥याउनुपर्छ भन्ने हामीलाई लाग्छ । कोही पनि दोषीले उन्मुक्ति पाउनु हुँदैन तर कसैमाथि व्यक्तिगत वा सामाजिक प्रतिष्ठामा आघात पुग्ने बोली र व्यवहार गर्दा त्यसका बारेमा गम्भिरतापूर्वक सोचिनुपर्छ भन्ने हामीलाई लाग्छ ।

यी विषयमा उपचार खोज्न राज्यका विभिन्न निकायहरू हुँदाहुँदै प्राज्ञिक संस्थालाई समेत विवादमा तान्ने गरी सृजित विवादप्रति हामी दुःख र खेद प्रकट गर्दछौं । आज भएको छलफल सफल बनाउने विद्यार्थीहरू विशेष धन्यवादका पात्र छन् । छलफल भएका विषयवस्तु विभिन्न सञ्चारमाध्यममा प्रकाशित प्रसारित गरिदिनुहुने सञ्चारकर्मी र सञ्चारमाध्यमप्रति हामी आभारी छौं ।

भवदीय मादव प्रसाद न्यौपाने

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.