बिचार

भाषा मानिसको मुटु हो, यो लोप भए अस्तित्व नै हराउँछ

पराई भाषा र संस्कृतिलाई बढी महत्व दिंदा रैथाने भाषा संरक्षणमा चुनौति

गीता श्रेष्ठ

भाषा मानिसको मुटु हो- जसरी मुटु चलायमान रहँदासम्म मानिस जीवित रहन्छ त्यस्तै भाषा जीवन्त रहे मात्र मानिसको चिनारी कायम रहन्छ, भाषाबिनाको मानिसको कुनै चिनारी हुँदैन । भाषामै मानिसको सभ्यता हुन्छ, उसको धर्म, संस्कृति, परम्परा अनि मूल्य र मान्यताहरु स्थापित भएका हुन्छन् ।

हुन त आजभोलि भाषालाई केवल सम्पर्कको माध्यम मात्र ठानिन्छ तर त्यो बुझाई पूर्णतः गलत हो । अंग्रेजी भाषाको व्यापकताले नेपालको रैथाने भाषाहरु लोप हुँदै गएका छन् । भाषासंगै संस्कृति हराउँदै गएको छ । आधुनिकताको नाममा हामीले हाम्रो भाषा, संस्कृति र संस्कारलाई पन्छाएर पराईको भाषा र संस्कृतिलाई बढी महत्व दिंदा आज भाषा संरक्षणमा ठूलो चुनौति आइरहेको छ । भाषा हराउँदै जाँदा संस्कति हराउँदै गएको छ । तर, अब यसमा सुधारको संकेत देखिएको छ । मुलुकका स्थानीय तहहरुले स्थानीयसंस्कृति, संस्कार, धर्म र तिहास अनि प्राकृतिक स्रोत, साधन, सम्पदा र साहित्यलाई प्राथमिकतामा राखेर पाठ्यक्रम विकास गरेको छ । यो सह्रानीय कार्य त हो नै तर पर्याप्त छैन । सबभन्दा पहिले भाषा संरक्षणका लागि स्पष्ट योजना र नीति आवश्यक पर्दछ । किनभने भाषा मर्यो भने मानिस जीवित त हुन्छ तर उसको पहिचान हुँदैन ।

नेपालमा बोलिने सम्पूर्ण भाषाहरु राष्ट्रको सम्पत्ति र गहना हो । यिनको संरक्षण कुनै एक समुदायको हितका लागि मात्र हैन सिंगो राष्ट्रको हित र चिनारीको विषय रहेकाले भाषाप्रति कसैले दुर्भावना राख्ने हैन कि सबैले सबैको भाषा, संस्कृति, धर्म र संस्कार तथा सामाजिक रीतिरिवाजको सम्मान गर्दै एकले अर्कोसंग सहिष्णु भएर अघि बढ्नु पर्दछ । भाषा जोगाउन सकिए मात्रै जाति जोगिन्छ र जाति जोगिए मात्रै देश जोगिन्छ भन्ने हेक्का सबैमा हुनुपर्छ ।

काठमाडौं उपत्यकाको रैथाने बासिन्दा नेवार समुदायको भाषा, संस्कृति संरक्षणको आवश्यकता ठानेर काठमाडौं महानगरपालिकाले आउँदो शैक्षिकसत्रदेखि नेपाल भाषामा शिक्षण अनिवार्य गर्ने भएको छ । यसका लागि विद्यालयका शिक्षकहरुलाई तालिम समेत दिइएको छ । तालिमका क्रममा केवल भाषा मात्रै सिकाउने नभै नेवार संस्कृति, रितीरिवाज, धर्म, सामाजिक कार्य तथा अन्य विविध पक्षलाई समेटेर शिक्षक–शिक्षिकालाई दिइएको तालिम निकै प्रभावकारी रह्यो ।

उपत्यकाको रैथाने जातिको भाषा, धर्म, संस्कृति, परम्परा, यहाँको रहनसहनको मौलिकता अझै पनि कायमै छ । तर, बढ्दो आधुनिकतासंगै भाषा बोल्नेहरुको संख्यामा कमी आइरहेको छ । अझ “रञ्जना लिपी” लेख्न र पढ्नसक्नेहरु निकै कम छन् । यस्तोमा देवनागरी लिपिमै भए पनि नेपाल भाषामा उनीहरुको विविध पक्षको अध्ययन–अध्यापन गराउने कार्यको सुरुवात हुनु सुखद् पक्ष हो ।

काठमाडौं महानगरले नेपाल भाषामा अध्ययनका लागि पाठ्यक्रम तयार गरेर तालिम समेत उपलब्ध गराइएको छ । अब देशका हरेक भाषालाई यसै गरी संरक्षण गर्ने र सोही अनुसारको अध्ययन–अध्यापनको वातावरण बनाउने जमर्को गर्नुपर्छ । हुन त धेरै स्थानीय तहहरुले आफ्नो पाठ्यक्रम लागू गरेका छन्, तर त्यहाँ भाषालाई कति प्राथमिकता दिइएको छ भन्ने महत्वपूर्ण पक्ष छ । किनभने विशेष हरेक मानिसको पहिचान उसको भाषामा हुन्छ, उसले आफ्नो भाषामा आफ्नो धर्म, संस्कृति, चाडपर्वहरुको अध्ययन गर्न पायो भने पक्कै पनि गर्वको अनुभूत गर्नेछ । अंग्रेजी भाषामा ‘यमोरी’को बारेमा पढेर के बुझ्ला ? अर्को महत्वपूर्ण कुरा के हो भने भाषा अध्ययनसंगै लिपीमा पनि अभ्यास गराउने योजना बनेन भने बोलीचालीमा भाषा त बच्छ तर लिपी हराउँदै जान्छ । नेपाल भाषामा लेखिने कतिपय शब्दहरुमा प्रयोग हुने चिन्हहरु देवनागरी लिपीमा हुँदैन । तसर्थ लिपीको पनि संरक्षण र विकास अनिवार्य शर्त हो ।

नेपाल भाषा जस्तै संस्कृत भाषा नेपालको लागि सबभन्दा महव्वपूर्ण पक्ष हो । सम्पूर्ण भाषाहरुको मातृभाषा भनिने संस्कृत सबभन्दा बढी अपहेलित भएको समयमा यसका अभ्यासकर्ताहरुले पनि सोही अनुसारको कदम चाल्नु आवश्यक छ । संस्कृत अध्ययन गर्न चाहनेहरुका लागि केवल कर्मकाण्ड मात्र पढाउने हैन कि भाषा बोल्न, लेख्न, बहस गर्नसक्ने बनाउनुका साथै वेद, उपनिषदहरुको व्याख्या गर्नसक्ने बनाउनुपर्दछ ।

भाषामा माटोको अर्थात् आफ्नो प्रकृतिको सुगन्ध हुन्छ । जब मानिसलाई माटोको सुगन्धको आभास हुन्छ तब उसले आफ्नोपनको खोजी गर्न थाल्छ । आफ्नोपनको खोजी आफ्नै भाषाबाट मात्रै सम्भव छ । नेवारी संस्कृतिका चाडपर्वहरुको जानकारी अंग्रेजी वा अन्य भाषामा दिने कि नेवारी भाषामै भन्ने अहं सवालकाबीच भाषा अध्यापन प्रशिक्षणले नेपाल भाषाको विकासमा टेवा त पु¥याएको छ तर यसका कमजोरीहरु भने रहेका छन् ।

यो व्यवहारिक कमजोरी बाहेक भाषा प्रशिक्षण आवश्यक थियो, अति उपयोगी सावित रह्यो भन्न कुनै कञ्जुस्याई गर्नु पर्दैन । विगतमा पनि मैले लेखेकै थिए मातृभाषाको शिक्षा किन आवश्यक छ भनेर । यसको महत्व अहिले पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

यसकारण महत्वपूर्ण छ मातृभाषाको शिक्षा…

तालिम सम्पन्न भएलगत्तै तत्काल कक्षा संचालन गर्नुपर्ने र परीक्षा समेत लिनुपर्ने निर्देशनले भने शिक्षक–शिक्षिका र विद्यार्थी दुबैलाई मानसिक दवाव सिर्जना गरेको छ । शैक्षिकसत्र समाप्त हुन एक महिनामात्रै बाँकी रहेको समयमा १०० पूर्णङ्कको नेपाल भाषा कक्षा संचालन गर्नु कति सम्भव होला र यसले विद्यार्थीहरुमा कस्तो असर गर्ला भन्नेतिर आयोजकले त्यति ध्यान नदिएको जस्तो मेरो बुझाई छ ।

शिक्षण कार्यमा मेरो लामो समयको अनुभवले निकालेको निचोड के हो भने शिक्षा आफ्नोपनको हुनुपर्छ आयातित हैन । आयातित शिक्षाले मानिसलाई अक्षर चिन्ने मात्र बनाउँछ भने आफ्नोपनको शिक्षाले मानिसलाई बुद्धिमान बनाउँछ । आफ्नोपनको शिक्षाका लागि आफ्नै भाषा, संस्कृति, परम्पराको जगमा टेकेर अध्ययन–अध्यापन गराउनुपर्दछ ।

(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमी खुसिंबुका संचालक सदस्य हुनुहुन्छ)

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button