भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले छैटौं जित निकालेको छ । मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै लखनउले प्रतियोगितामा छैटौं जित निकालेको हो ।

लखनउको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । मुम्बईका लगि नेहल वाधेराले ४६ रन बनाए भने टिम डेभिडले ३५ रनमा अविजित रहे । त्यस्तै इशान किशनले ३२ रन जोड्दा सूर्यकुमार यादवले १० रन बनाए । लखनउका लागि मोहसिन खानले २ विकेट लिँदा मार्कुस स्टोइनिस, नभिन उल हक, मंयक यादव र रवि विश्वइले समान १-१ विकेट लिए ।
मुम्बईले दिएको १ सय ४५ रनको मध्यम लक्ष्य लखनउले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लखनउको लागि मार्कुस स्टोइनिसले ६२ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले २८ रन बनाए । यस्तै दिपक हुडाले १८ रन जोड्दा निकोलस पुरनले १४ रन बनाए । मुम्बईका लागि हार्दिक पाण्ड्याले २ विकेट लिँदा नुवान थुसारा, जेर्राल्ड कोएट्जे र मोहम्मद नावीले समान १-१ विकेट लिए।
जितसंगै लखनउ १० खेलमा १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ६ अंक जोडेको मुम्बई पुछारबाट दोस्रो स्थानमा रहेको छ । आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स नेपाली समय अनुसार पौने आठ बजे चेन्नईमा भिड्दै छन्।
प्रतिक्रिया राख्नुहोस्