सांसद अपहरणको मुद्दा दर्ता गर्यो जिल्ला सरकारी वकिलको कार्यालयले
जसपाका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेका सांसद महेश बस्नेत, अर्का सांसद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालबिरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी उजुरी दर्ता भएको छ ।
काठमाडौं प्रहरी र सरकारी वकिलको कार्यालयले यसअघि उजुरी दर्ता गर्न नमाने पनि सोमबार भने उजुरी दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताउनुभएको छ । अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।
अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए । तर वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए ।
प्रहरी र सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गर्न नमानेपछि सांसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्