विश्वभर २ लाख ४८ हजारको मृत्यु, मृत्युदरमा सामान्य गिरावट- रुसमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो
कोरोना भाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ३ हजार ४८१ जनाको मृत्यु भएको छ । अघिल्लो दिन २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको थियो ।
यरोपका अन्य मुलुकहरुमा संक्रमितको संख्या र मृत्युदरमा कमी आइरहेका बेला रुसमा भने व्यापक वृद्धि भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित थपिएका छन् । रुसमा आइतबार दश हजार ६३३ जना नयाँ संक्रमित थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आइतबारसम्म रुसमा संक्रमितको संख्या एक लाख ३४ हजार ६८७ पुगेको छ । बिहिबारसम्म उक्त संख्या एक लाख रहेको थियो । तीन दिनदेखि लगातार संक्रमित हुनेको संख्या बढ्ने क्रममा रहेको रुसी अधिकारीहरुले बताएका छन् । संख्या बढ्दै जाँदा रुस सातौं सबैभन्दा बढी संक्रमित हुने राष्ट्र बनेको छ ।
रुसी कोरोनाभाइरस सम्बन्धी सूचना अद्यावधिक गर्ने निकायका अनुसार आइतबारसम्म एक हजार २८० जनाको संक्रमणले मृत्यु भएको छ । रुसी अधिकारीहरुले नयाँ थपिएका ५० प्रतिशत संक्रमितमा कोभिड–१९ को संक्रमणका लक्षणहरु देखिएका छैनन् ।
कुल संक्रमितको पचास प्रतिशत संक्रमित राजधानी मस्कोमा मात्रै फेला परेको सीएनएनले उल्लेख गरेको छ । रुसमा आइसोलेश अवधि मई ११ सम्मलाई थप गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्रमित हुने क्रम अहिले नै स्थिर नहुने बताउनुहुँदै महामारीको उत्कर्ष रुसले भोग्न बाँकी नरहेको सचेत गराउनुभएको छ ।
समाचारमा अस्पतालमा कार्यरत स्वास्थ्य अधिकारीहरु भने रिसाएको उल्लेख गरिएको छ । क्वारेन्टाइनका लागि प्रयोग गर्न दुई दर्जन अस्पताल बन्द गरिएका छन् । रुसी स्वास्थ्य अधिकारीहरुले पर्याप्त व्यक्तिगत् सुरक्षा उपकरणको अभाव समेत रहेको बताएका छन् ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा १७४, स्पेनमा १६४, फ्रान्समा १३५ र बेलायतमा ३१५ जनाको ज्यान गएको छ ।
संयुक्तराज्य अमेरिकामा पनि मृत्युदरमा कमी आएर १ हजार १५४ जनाको मृत्यु भएको छ । अघिल्लो यहाँ १ हजार ६९१ जनाको मृत्यु भएको थियो ।