स्थानीयतह निर्वाचन

प्रचारप्रसारमा लाग्ने कर्मचारी-शिक्षकलाई कारबाही

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि मकवानपुरमा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

हेटौँडाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको लिखत उजुरी परेपछि कारबाही सुरु गरिएकोे जनाइएको छ ।

निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार गर्नेमा निजामती कर्मचारी, शिक्षक, सांसद र मन्त्रीसमेत रहेको बताइएको छ । आचारसंहिता विपरीत जानेलाई लिखितरुपमा स्पष्टीकरण माग गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी सागर शर्माले हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी तथा सार्वजनिक पद धारण गर्ने सांसद र मत्रीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको र सामाजिक सञ्जालमा भोट माग्ने प्रचार गरेको देखिएको उजुरी परेकाले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको जानकारी दिनुभयो ।

उनीहरुको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा कारबाहीका लागि पठाइने उहाँले जानकारी दिनुभयो । आचारसंहिता विपरीत काम गर्ने कर्मचारीलाई निर्वाचनमा नखटाइने उहाँले बताउनुभयो ।

यसै सम्बन्धमा निर्वाचन आचारसंहिता पालना गर्नका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आह्वानमा सोमबार सर्वपक्षीय बैठक बसेको थियो ।

बैठकमा सबै दलका सहभागी प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षक तथा कर्मचारी र सार्वजनिक पद धारण गर्ने व्यक्तिले आचारसंहिताको बेवास्ता गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेकाले प्रमाणका आधारमा कारबाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.