जन सरोकार

पानीको विवादमा महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

पर्वतमा एक शिक्षकले नहरको पानी लगाउने विषयमा विवाद हुँदा स्थानीय महिलालाई निर्घात कुटपिट गरेका छन् । जिल्लाको दक्षिण पर्वतको पैँयु गाउँपालिका २ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानाले स्थानीय महिलालाई कुटपिट गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार अनुसार शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले स्थानीय एक महिलामाथि निर्घात कुटपिट गरेका थिए । सोही विषयलाई लिएर महिलाले गाउँपालिकासँगै प्रहरी चौकीमा उजुरी दिएपछि शिक्षकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुँवर सिंहले जानकारी दिनुभयो ।

महिलालाई गम्भीर चोटपटक लागेको हुँदा उपचारका लागि छिमेकी जिल्ला स्याङ्जाको वालिङ पठाइएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

त्रिवेणीका वडाध्यक्ष भीमसेन गुरुङका अनुसार महिलालाई गम्भीर चोट लागेको र स्थानीयवासी समयमै घटनास्थालमा पुगेको हुँदा घटनाले ठूलो रूप लिन नपाएको जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button