उपत्यकामा दैनिक चारहजार मानिस प्रवेश- अब पास भएकालाई पनि नो इन्ट्री

सवारी पास बनाएर राजधानी छिर्ने जो कोहीलाई अब प्रवेश निषेध गरिएको छ । महानगरीय प्रहरीले अब अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई पास भए पनि उपत्यकाका कुनै पनि नाकाबाट छिर्न नदिने भएको छ ।
उपत्यका छिर्न अहिलृ नागढुङ्गा, फर्पिङ, मुड्खु, जगाती, जरसिङपौवा लगायतका सबै नाका बन्द गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताउनुभयो ।
उहाँका अनुसार दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ ।
विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।
कोरोना भाइरस संक्रमणको महामारी रोक्न घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र मिचिमिची साबुन पानीले हात धुने गर्नुपर्छ । तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो ।
अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो ।
गृह मन्त्रालयले केही दिनअघि आवागमनमा कडाइ गर्न निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र मुलुकभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेको छ । कोरोनाको सङ्क्रमण जोखिमलाई रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताउनुभयो । उहाँले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेकाले उपत्यकामा सवारी चाप बढेको अनुभव भएको बताउँदै जिल्लाबाटै पास रोक्नुपर्नेमा जोड दिनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्