आचारसंहिता उल्लंघनमा ठूला दलहरु नै सक्रिय
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचासरसंहिताा उल्लंघन गर्नेमा सत्ता गठन्धनमा रहेका र प्रमुख प्रतिपक्षी लगायत मुख्य राजनीतिक दलहरु नै बढी रहेका छन् ।
निर्वाचन आयोगले नेकपा एमाले, सत्ता गठबन्धनका नपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, जनता समाजवादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसंग प्रष्टिकरण मागेको छ ।
आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ मागिएको जानकारी दिनुभयो । उहाँले पाँच जनाको जवाफ अझै नआएको बताउनुभयो ।
पछिल्लो पटक आयोगले नेकपा ९एमाले० र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो ।
निर्वाचन आचारसंहितामा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न नहुने व्यवस्था छ । आयोगले आचारसंहिता जारी गरेको दुई दिन नबित्दै उल्लङ्घनको घटनामा नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल तथा गण्डकी प्रदेशका सभामुखलाई चित्तबुझ्दो जवाफ बुझाउन निर्देशन दिएको थियो ।
सबैले छुट्टाछुट्टै जवाफ पठाएपछि आयोगले सचेत गराउने निर्णय गरेको थियो । निर्वाचन आयोगले चैत २५ गतेदेखि आचारसंहिता लागू गरेको हो ।
आयोगले अनुमति नलिई विदेश भ्रमणमा गएको सम्बन्धमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग समेत जवाफ मागेको थियो ।
आयोगको कानुन महाशाखाका अनुसार भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भन्दै नेपाली काँग्रेसबाट नेत्रावती डबजोङ गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार सीता गुरुङ, धनगढी उपमहानगरपालिकाका उम्मेदवारले भड्किलो खर्च गरेको सम्बन्धमा जवाफ मागिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्रतिक्रिया राख्नुहोस्