भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ । सोमबार राति भएको खेलमा मुम्बईले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा मुम्बईको यो तेस्र जित हो भने लखनउको लगातार छैटौं हार । मुम्बईको घरेलु मैदान वानखेडे रंघशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । लखनउका लागि निकोलस पुरनले २१ बलमा १ चौका र ८ छक्काको सहयोगमा सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले भने मिचेल मार्श २५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए ।
त्यस्तै हिम्मत सिंह ४० तथा एडेन मारक्रम ३१ रनमा अविजित रहँदा कप्तान रिषभ पन्तले १५ र जोश इंग्लिसले १३ रन जोडे । मुम्बईका लागि कोर्बिन बोसले दुई विकेट लिए भने अल्लाह गजान्फर, विल ज्याक्स र रघु शर्माको भागमा समान एक-एक विकेट रह्यो । लखनउले दिएको २ सय २९ रनको लक्ष्य मुम्बई १८ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको लागि ओपनर रोहित शर्माले ४४ बलमा ६ चौका र ७ छक्का प्रहार गर्दै ८४ रनको अर्धशतकीय पारी खेले भने रायन रिकल्टनले ३२ बलमा ६ चौका र ८ छक्काको सहयोगमा ८३ रनको अर्धशतकीय इनिङ खेले । यी दुईले पहिलो विकेटका लागि ६५ बलमा १ सय ४३ रनको शतकीय साझेदारी गरेका थिए ।
यस्तै नमन धिर २३ रनमा अविजित रहँदा सुर्यकुमार यादवले १२ र तिलक बर्माले ११ रन बनाए। लखनउका लागि मनिमरन सिद्धार्थले दुई विकेट लिए भने मोहम्मद सामी र मोसिन खानको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै मुम्बई १० खेलमा छ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ भने नौ खेलमा ४ अंक जोडेको लखनउ तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाल समयनुसार पौने आठ बजे चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।




प्रतिक्रिया राख्नुहोस्