जन सरोकार

काठमाडौँका ग्रामीण क्षेत्रमा लकडाउनको असर न्यून : खेतीपातीमा व्यस्त

देशभर कोरोनाा भाइरस संक्रमण हुन नदिन लकडाउन गरिए पनि देशका ग्रामीण क्षेत्रमा यसको प्रभाव न्यून छ । विशेष गरी काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्र (काँठ)मा कृषिकार्यको चटारो छ ।

ललितपुर ठेचोका सुन्दर महर्जन केही दिनअघि एउटा हातमा कोदाली र अर्काे हातमा पानीको बोतल बोकेर खेत जाँदै गर्दा भेटिनुभयो । उहाँ गत साता छरेको धानको बीउमा पानी लगाउन जान लाग्नुभएको थियो । बन्दाबन्दी (लकडाउन) ले आफूलाई खासै असर नगरेको उहाँको भनाइ छ । शहरी क्षेत्रका मानिसलाई दिन बिताउनै गाह्रो भएको भनिरहेका बेला उहाँलाई त्यस्तो छैन । उहाँले भन्नुभयो, “आफ्नो काम ग¥यो खायो मलाई लकडाउनले कुनै असर गरेको छैन ।”

देशभर ‘लकडाउन’ घोषणा भएको ४२ दिन पुगिसक्यो काठमाडौँका आसपासका क्षेत्र (काँठ क्षेत्र) का किसानमा भने यसको कुनै असर देखिँदैन । अहिले खेतबारीमा काम गर्ने समय भएकाले होला उनीहरू दिनभर खेतीमै बिताउने गरेका छन् । खेतमा आलु खन्ने, गहुँ रोप्ने र बारीमा मकै छर्ने काममा लागिरहेको देखिन्छ । यस क्षेत्रमा तरकारीखेती व्यावसायिकरूपमा नै गर्ने धेरै छन् । लकडाउनको पहिलो साता तरकारी बेच्न नपाए पनि अहिले तरकारी बजार गइरहेको उनीहरू बताउँछन् । पशुपालन गर्नेहरू पनि दूध नियमितरूपमा बेचिरहेका छन् ।

शहरी क्षेत्रमा बहालमा बस्ने धेरै भए पनि काँठ क्षेत्रमा बहालमा बस्ने कम छन् । अधिकांश आफ्नै घरमा बस्ने भएकाले होला साविकको जस्तै दिनचर्या चलिरहेको काँठ क्षेत्रमा बस्नेहरू बताउँछन् । आफ्नो घर आँगनदेखि खेतबारीसम्म हिँड्न पाएकाले शहरी क्षेत्रमा जस्तो यहाँ उनीहरूले थुनिएको महसुस गरेका छैनन् । शहरी क्षेत्रमा सबै कुरा किन्न बाहिर निस्कनु परे पनि यस क्षेत्रमा धेरैलाई आफ्नो खेतबारीमै आवश्यक तरकारी फल्ने हुँदा पनि बाहिर निस्कनु परेको छैन ।

मुख्य सडक क्षेत्रमा बाहेक अधिकांश स्थानमा सामान्य दिनचर्या नै रहेको चापागाउँका विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । कार्यालय जाने कर्मचारी र व्यापारीलाई असर परे पनि गाउँघरमै काम गर्नेलाई कुनै असर नपरेको उहाँले बताउनुभयो । विगतमा यस क्षेत्रमा स्थानीयवासी आफू खेतबारीको काम नगर्ने र ज्याला दिएर अरुलाई काम लगाउने भए पनि त्यसमा भने परिवर्तन आएको छ । यो समयमा सबैले काम गर्नुपर्छ भन्ने मानसिकताका साथ घर वरिपरिका करेसाबारी र बाँझो जमिनसमेत खनेर उत्पादन गरिरहेका छन् । प्लटिङ गरी व्यापारका लागि सम्याएका बाँझो जमिनमा समेत अहिले धमाधम खनजोत भइरहेको छ । उहाँले भन्नुभयो, “एकातिर ज्यालामा काम गर्नेहरू आ–आफ्नो घर फर्किए र अर्कातिर परिवारका सबै घरमै भएकाले परिवारका सदस्य मिलेर काम गरेको पाइन्छ ।”

काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ निवासी ७१ वर्षीया लक्ष्मी कुइँकेलले सामाजिक दूरी कायम गरी आफ्ना क्षेत्रमा धमाधम खेतीबारीको काम गरिरहेका बताउनुभयो । काम नपर्दा घरबाट बाहिर ननिस्कने तर चाहिने कुरा किन्न कुनै अवरोध नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनहुँ चाहिने खानेकुरा किन्न जान कसैले रोकेका छैनन् ।”

ललितपुर जिल्लाका तीन गाउँपालिका वाग्मती, कोञ्जेसोम र महाङ्कालमा पनि दैनिक काममा लकडाउनले खासै असर नगरेको स्थानीयवासीले जानकारी दिएका छन् । देशका अरु जिल्लामा जस्तै शहरी क्षेत्रमा रोजगारी वा अध्ययनका लागि बस्नेहरू घर फर्किएका छन् । यहाँ कृषि र पशुपालनका काममा कुनै अवरोध नभएको महाङ्काल गाउँपालिकाका वडाध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक उत्पादन हुने दूध, तरकारीलगायतका वस्तु दैनिक व्यापारका लागि बजार ल्याउने व्यवस्था गरिएको छ ।”

गाउँघरमा पशुपालन र कृषिमा लकडाउनको प्रभाव कम रहेको स्थानीयवासी दीपक घिमिरेले बताउनुभयो । भौगोलिक विकटताका कारण पातलो बस्ती भएकाले दैनिक गर्ने काममा खासै प्रभाव नपारेको उहाँले बताउनुभयो । सरकारले भनिरहेको सामाजिक दूरी ग्रामीण क्षेत्रमा सामान्य अवस्था नै पालना भइरहेको उहाँको भनाइ छ । अरु समयमा गाउँ भनेर हेला गरिए पनि यस्ता सङ्कटको समयमा शहरभन्दा गाउँ नै उपयुक्त हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शहरमा बस्नेलाई पैसा भए पनि किनेर खान पाइएला नपाइला भन्ने चिन्ता छ तर हामीलाई त्यस्तो छैन ।”

पहिले बजारको समस्या हुने गरेको भए पनि अहिले तरकारीका लागि बजारको समस्या नभएको भक्तपुर सुडालकी सरस्वती थापाले बताउनुभयो । बजारमा अहिले तरकारीको मूल्य भने असाध्यै कम भएको उहाँको भनाइ छ । लकडाउन शुरु हुनासाथ बेच्ने समय भइसकेको काउली उहाँ अहिले बेचिरहनुभएको छ । तर काउलीको भाउ भने प्रतिकिलो रु १० मात्रै पाएको उहाँले बताउनुभयो । साग रोप्ने जमिन तयार पार्दै गर्नुभएकी उहाँले यो साग भने आफ्नो परिवारलाई मत्र पुग्नेगरी रोप्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुःख गरेर रोप्यो बेच्ने बेलामा बीउ, मल र ज्याला नै उठ्दैन ।”

चन्द्रागिरि नरपालिका–५ निवासी ७८ वर्षीय विष्णुप्रसाद सिग्देलले पहिले अधिकांशले आफ्नै करेसाबारीसमेत ज्याला लगाएर खन्ने र रोप्ने गरेकामा लकडाउनले त्यसमा परिवर्तन ल्याएको बताउनुभयो । अहिले कार्यालय बिदा भएर घरमा बस्दा धेरै करेसाबारी हरियोपरियो बनाएको उहाँले बताउनुभयो । यो अवस्था अझै कहिलेसम्म हुने हो र भोकै हुनुपर्र्ला भनी बाँझो रहेको जमिन वा छिमेकीकोे जमिनमा पनि अन्न तथा विभिन्न बाली रोप्ने प्रवृत्ति बढेको छ । उहाँले भन्नुभयो, “हिजोसम्म कुटोकोदाली, हँसिया नचिन्ने मानिसले पनि आज खेतीको काम थालेका छन् ।

विगतमा दैनिक रूपमा बजारबाटै किनेर खाउँला भन्ने कतिपय मानिसकोे मानसिकतालाई आज कोरोेनाले बदलिदिएको उहाँले बताउनुभयो । अहिले रोपे केही महिनामा फलेर खान पाइन्छ भनेर कोदाली बोकेर हिँड्ने बढेको उहाँले बताउनुभयो । यो समयमा मकैँ भटमास, चिउरा, पुवा, रोटी, गुन्द्रुकको अचार आदिजस्ता पहिलेका खाजामा मानिसको रुची दिनानुदिन बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर पसलमा कति कुरा आएका छैनन् अर्कातिर पाइन्छ कि पाइँदैन भनेर आफैँ बनाएर खानेहरू बढेका छन् ।

पहिले पहिले मानिस व्यक्तिवादी बन्दै गए पनि कोभिड–१९ को त्रासका कारण मानिसमा परिवार चाहिन्छ भन्ने भावना पलाएको यहाँका ज्येष्ठ नागरिकले बताएका छन् । शिक्षित मानिसले खेती किसानी गर्नु हुँदैन भन्नेमा समेत परिवर्तन आएको छ । बजारका खाद्यान्नभन्दा अधिकांश घरमै खाना बनाएर खान लागेका छन् ।

काँठ क्षेत्रमा दिनभर यसै कुनै काम नगरी बस्दा दिन काट्न गाह्रो हुने भन्दै जङ्गलमा जाने पनि बढेका छन् । दीर्घरोगीहरू मुख्य सडकमा हिँड्न नपाइने भन्दै जङ्गलमा हावा खान जाने गरेका छन् । अहिले काफल र लालीगुराँसको समय भएकाले त्यो टिप्न र वनमा पाइने जडीबुटी टिप्न पनि परिवारका सदस्यहरू जङ्गल गएको पाइन्छ । लकडाउनको अवधिमा आमाको मुख हेर्ने औँशी र चैते दशैँलगायतका चाडपर्व परेका थिए । सार्वजनिक बिदा नहुने भएकाले विगतका वर्षहरूमा कम महत्व पाउने यी पर्वसमेत धेरैले परिवारसँग मनाए । नेपाल प्रहरीमा महिला हिंसाका घटना कम भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार श्रीमान् श्रीमती दुवै वा एकजना बाहिर हुँदा आशङ्काका कारण झगडा हुने गरेकामा लकडाउनमा सँगै हुँदा यी समस्या कम आएका छन् ।

नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले लकडाउन जारी राख्दा काँठका कतिपय स्थान र नागरिकबाट यसको उल्लङ्घन भइरहेको पनि देखिन्छ । यस क्षेत्रमा अत्यावश्यकबाहेकका पसलसमेत खुल्नाका साथै मानिसहरू समूहमा जम्मा भएको चिया पसल र चौतारीमा देख्न सकिन्छ । दशैँ, तिहारलगायतका चाडपर्वको समयमा जस्तै युवा जम्मा हुने तास खेल्ने वा गफ गरेर समय बिताउने गरेको पाइन्छ । कतिपय भने साथी भेट्न वा आफन्तकहाँ जान भन्दै दिनभर हिँडिरहेको पनि देखिन्छ । प्रहरीको उपस्थिति कम भएकाले पनि यस क्षेत्रमा घरभित्रै बस्ने भन्ने पालना नभएको पाइन्छ ।

उपत्यकाका तीन जिल्लामा नै भीडभाड पहिलेभन्दा कम भए पनि भीडभाड गर्नु हुँदैन भन्ने नागरिकले नबुझेको पाइएको छ । कतिपयले भने शहरी क्षेत्रमा जस्तो भीड नहुने र बाहिरबाट कोही आउनासाथ जानकारी हुने भएकाले पनि यहाँ बाहिर निस्कन जोखिम नभएको बताउँछन् । खाद्यान्नको पसलसँगै चिया पसल, खाजा घरजस्ता पसलसमेत यो समयमा खुलेको देखिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.