जुलाई ३० र ३१ मा नेपाल फेस्टिवल हुने
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा टोकियोमा आगामी जुलाई ३० र ३१ तारिखमा नेपाल फेस्टिवल हुने भएको छ । टोकियोको नाकानो सिकि नो मोरी पार्कमा आयोजना गरिने तय भएको हो ।
![Nepal Festival](https://www.nepaljapan.com/wp-content/uploads/2022/05/Nepal-Festival.jpg)
जापानमा नेपाल चिनारीको प्रमुख कार्यक्रम तथा नेपालीहरुबीच भेटघाट र आपसी भाइचारा अभिबृद्धिको मुख्य थलो बन्दै आएको नेपाल फेस्टिवलमा यस पटक नेपाल र जापानी समुदायको सहभागीतामा आयोजना तयारी भइरहेको छ ।
एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार फेस्टिवल आयोजना र स्थानीय सरकारसँग सहकार्यको लागि यसअघि अध्यक्ष शिवप्रसाद पौडेल सहितको टोलीले नाकानो सिटिका मेयर नाओतो साकाइ लगायतसँग भेटवार्ता गरिसकेको छ ।
जापानका पूर्व सांसदद्वय कोमियामा योशिहारु, मासामी निशिमुरा लगायत व्यक्तित्वहरुबाट समेत फेस्टिवलमा जापानी निकाय र समुदायको सहभागिताको लागि सक्रिय सहयोग र परामर्श पाइराखेको पनि महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।
फेस्टिवल आयोजनाको तयारी स्वरुप एनआरएनए जापानले यही मे १५ मा आवश्यक समितिहरु घोषणा गर्ने भएको छ । जसमा युवा परिचालन, आर्थिक व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, स्टल, फोहोरमैला व्यवस्थापनदेखि अतिथि सत्कार लगायत आवश्यक सबै कुराको लागि कामको बाँडफाँड गरिने महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
फेस्टिवल आयोजनाको लागि मूल आयोजक कमिटी संयोजकमा अध्यक्ष शिवप्रसाद पौडेल रहनुहुने भएको छ । मुल आयोजक कमिटी अन्तर्गत उपसमिति बनाइने तथा फेस्टिवल संयोजक समेत तोकिने एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो ।
नेपाल फेस्टिवल मार्फत जापानी पर्यटकहरुलाई नेपाल चिनाउन र नेपाल भ्रमणमा आकर्षित गराउन मे ९ मा नाकानो पर्यटन बोर्डका अध्यक्ष सहितको टोलीसँग एनआरएनए जापानको टोलीले छलफल गर्ने भएको लामिछानेले जानकारी दिनुभयो ।
नेपाल फेस्टिवललाई अहिलेसम्मकै फरक र भव्य बनाउन आवश्यक तयारी थालिसकिएको बताउँदै प्रवक्ता लामिछानेले जापानमा नेपालको चिनारी झल्काउने तथा नेपाल र जापानबीचको सम्बन्ध थप प्रगाढ बनाउने गरी फेस्टिवललाई सांस्कृतिक रुपमा समेत विशेष बनाइने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्