ओलीले राष्ट्रवादको नाममा संसद् भङ्ग गर्ने काम गरे
पाँच दलीय गठबन्धनका नेताहरुले राजनीतिक स्थिरताका लागि गठबन्धन गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । बुटवलमा आज आयोजित बृहत् आमसभामा बोल्दै उहाँहरुले राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धनको विकल्प नभएको बताउनुभएको हो ।
सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न र सुकुम्वासीलाई जग्गा वितरण गर्न गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।
देशमा राजनीतिक स्थिरता कायम राख्न गठबन्धन बनेको बताउँदै उहाँले अदालत र संसद्लाई पङ्गुु बनाउने जस्ता काम गरेर सधैँ अस्थिरता ल्याउने प्रपञ्च रच्ने दललाई नागरिकले पाखा लगाउनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ नेता पौडेलले राजा महेन्द्रले पनि राष्ट्रवादकै नाममा प्रजातन्त्रको हत्या गरेको स्मरण गर्दै केपी ओलीले पनि राष्ट्रवादको नाममा संसद् भङ्ग गर्ने काम गरेको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो । “गठबन्धनको जग अहिलेको होइन, स्वर्गीय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले बसाल्नुभएको हो”, उहाँँले भन्नुभयो, “हामीले पार्टी कमजोर भएका कारण गठबन्धन बनाएका होइनाँै, राष्ट्रिय आवश्यकताका आधारमा बनाएका हौँ ।”
बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई भोट दिन नेता खाणले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “आदिवासी जनजाति र भूमिहीन नागरिकलाई बसोबासको व्यवस्था गर्नु हाम्रो दायित्व हो । सुकुम्वासीलाई जग्गा दिन्छु भन्नेले कति दिए दिएनन् त्यो तपाइँले मूल्याङ्कन गर्नुहोला ।” गृहमन्त्रीसमेत रहनुभएका नेता खाणले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पटकपटक संसद् विघटन गर्दा पनि बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व नचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताउँदै उहाँले नेकपा एमालेले जनतालाई झुक्याउने काम गरेको आरोप लगाउनुभयो ।
“पानीजहाज, चुच्चे नक्सा र रेल ल्याउनेजस्ता सुन्दै रोमाञ्चकारी कुराले जनताको पेट भरिन्न”, उहाँले भन्नुभयो, “वास्तविक धरातलमा उभिएर देश सहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनु अहिलेको आवश्यकता छ ।”
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनलाई इमान्दारिताका साथ पालना गर्न सबैमा आग्रह गर्नुभयो । “कुरा गर्न छोडेर काममा लागौँ, गठबन्धनलाई अगाडि बढाउन सबै इमान्दार बनौँ”, उहाँले भन्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणि खनाल (बलदेव)ले विकास र परिवर्तनका लागि गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले देशलाई सही बाटोमा अगाडि बढाउन गठबन्धनको विकल्प नभएको बताउनुभयो ।
कांग्रेसका तर्फबाट बुटवल उपमहानगरपालिकाका उप्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले बुटवलको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमाका प्रमुख पदका उम्मेदवार रामकृष्ण खाणले गठबन्धनको नेतृत्व आउने वित्तिकै स्थानीय तहको संरचना परिवर्तन गर्ने बताउँदै सबै किसिमका कर घटाउने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्