अर्थ

क्वारेन्टाइन, स्वास्थ्य सामग्री र राहतमा भ्रष्टाचारका चाङ- अनलाइन उजुरी व्यापक

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरिरहे पनि यसै मेसोमा भ्रष्टाचार भएका उजुरीहरु पनि व्यापक रुपमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महामारीको मौका छोपेर मह चाट्न खोज्नेहरु बढेको भन्दै अनलाइन मार्फत उजुरी परेको हो ।

अख्तियारमा लकडाउनका कारण मानिसको आवत जावत नभएपछि अनलाइनबाट उजुरी परेका हुन् । इमेल, वेभसाईट, फेसबुक, भाइबर, ट्विटर, हटलाइन र टोलफ्री नम्बरबाट अदुअआमा उजुरी गर्नेको संख्या बढेको हो । वैशाखको पहिलो हप्ता नै ५ सयभन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन् । अघिल्लो वर्ष मासिक ८ सयको हाराहारीमा उजुरी पर्ने गरेको थियो । यो अनुपातमा वैशाख अन्त्यसम्ममा भ्रष्टाचारका उजुरीले कीर्तिमान कायम गर्ने देखिन्छ ।

भ्रष्टाचारका विषयमा अदुअआले कञ्चनपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, हेटौडा, बर्दीवास, इटहरी र टंगालस्थित कार्यालयबाट उजुरी लिन्छ । गत आर्थिक वर्षमा सबै कार्यालयमा गरेर १६ हजार ९९७ उजुरी परेका थिए । जसमध्ये सबैभन्दा बढी टंगालस्थित प्रधान कार्यालयमा ९ हजार ८५५ उजुरी परे ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रधान कार्यालयमा मासिक औसत ८२१ उजुरी परेका थिए । त्यहाँ यसपटक बैशाखको पहिलो दुई हप्तामै ५०० भन्दा बढी उजुरी परेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

परेका अधिकांश उजुरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासमा केन्द्रित छन् । सरकारले सुरुवाती दिनमा गरेको औषधि खरीद सम्झौतामा व्यापक भ्रष्टाचार भएको भन्दै अदुअआमा दुईवटा उजुरी परेका छन् । ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै बिरोध भएपछि सरकारले सो सम्झौता रद्द गरेको थियो ।

ओम्नी समूहसंगको औषधि खरीदमा भ्रष्टाचार भएको भन्दै बागमती प्रदेश सांसद तथा विवेकशील नेपाली दलका नेता रमेश पौडेल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिवलगायत विरुद्ध छुट्टाछुट्टै उजुरी दिएका हुन ।

त्यस्तै लकडाउनका बेला परेका उजुरीहरू स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, राहत वितरणसँग सम्बन्धित छन् । केही उजुरी काठ तस्करी, गिटी बालुवा उत्खनन्सँग सम्बन्धित छन् ।

लकडाउनका बेला भ्रष्टाचार बढ्नुलाई ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका अध्यक्ष खेमराज रेग्मी महामारीका बेला भ्रष्ट मानसिकता भएकाहरूले मौकामा चौका हान्न खोजेको टिप्पणी गर्नुहुन्छ । उहाँका अनुसार सबैको ध्यान कोरोनामा केन्द्रित हुन्छ, जति लुटे पनि कसैले विरोध गर्दैन भन्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार बढेको देखिन्छ । भ्रष्टाचार भएको नजिकबाट थाहा पाउनेले उजुरी दिएको हुन सक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.