बिचार

कोरोनाको ‘बिस्फोटक’ समयमा सिर्जनाको ‘स्फोट’

कोरोना महामारीबाट उत्पन्न बिस्फोटक स्थितिमा नयाँ सिर्जनातिर लाग्ने

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले पुनः मानिसहरु घरभित्रै दुरी कायम गरेर बस्नुपर्ने बाध्यता आइपरेको छ । मानिस–मानिसबीच दूरी कायम गरेर बस्नुपर्ने यो अवस्थामा आफ्ना सन्ततिलाई जीवन सिकाउने, जगत बुझाउने र परिस्थितिको सामना गर्नसक्ने बनाउने अवसरका रुपमा लिएर हतार हैन एउटा नयाँ ज्ञान र शिक्षाको अवसरका रुपमा किन नलिने ? भनिन्छ हरेक विपत्ति एउटा अवसर बनेर आएको हुन्छ । यो मान्यतालाई आत्मसात गर्ने हो भने कोरोना महामारीबाट उत्पन्न बिस्फोटक स्थितिमा नयाँ सिर्जनातिर लाग्ने हो भने मानसिक, शारीरिक र बौद्धिक विकास हुने छ एकातिर भने अर्कोतिर घरभित्रै त्यसमा चिन्तन गर्दा संक्रमणको भय पनि समाप्त हुनेछ ।

यो अवधिमा परिवारभित्रै बसेर नयाँ कुराहरुको सिको गर्ने, खोजी गर्ने हो भने धेरै वैज्ञानिक बन्न सक्छन्, धेरै अनुसन्धानता र आविस्कारक पनि बन्न सक्छन् । यसका लागि चिन्ता हैन चिन्तन गर्नुपर्छ । ‘बिस्फोट’पछि ‘स्फोट’ भनेर पूर्वीय दर्शनमा व्याख्या गरिएको छ । यो फगत तर्क मात्रै नभएर प्रमाणित तथ्य हो, शास्त्रीय अभिव्यक्ति हो । ‘स्फोट’ शब्द परमतत्व मानिन्छ । महाभाष्यकार पतञ्जलिले यसलाई स्फोटवादकै रुपमा स्थापित गरेका हुन् । उनले यसको व्याख्या गर्दै बिस्फोटबाट अस्तित्वमा नयाँ संरचनाको रक्षा गर्दै त्यसलाई निरन्तरता दिनु ‘स्फोटवाद’ हो भनेका छन् । विस्फोटबाट अस्तित्वमा आएको ब्रह्माण्डलाई प्रस्फुटनद्वारा अंकुरित गरिरहने लक्ष्य स्फोटवादले लिएको छ ।



पतञ्जलिले महाभाष्यमा प्रयोग गरेको यो शब्द ब्रह्मशब्दको समानार्थ शब्द हो । सृष्टिमा ब्रह्मको अहं भूमिका छ । जो स्फोट हुन्छ, अभिव्यक्त हुन्छ, प्रकट हुन्छ त्यसैलाई ‘स्फोट’ भनिन्छ । यस्तै ब्रह्म शब्द पनि वृह धातुबाट निष्पन्न हुन्छ । जसको अर्थ हो– विकसित हुनु, विस्तारित हुनु, फिजिनु, फैलिनु । ‘रहस्याम्नाय ब्राह्मणमा ब्रह्मणे’ यही परिभाषा गरिएको छ । स्वयं वृहत हुनु तथा अरुलाई पनि वृहत बनाउने शक्ति सामथ्र्य जसको छ त्यही ब्रह्म हो । ‘स्फोट’ शब्दको पनि यही अर्थ हुन्छ । जसको आश्रयमा शब्द स्फुट हुन्छ, स्पष्ट हुन्छ, अभिव्यक्त हुन्छ त्यसैलाई ‘स्फोट’ भनिन्छ । कोरोना महामारीबाट बच्न घरमै थुप्रिएर बसिरहेको समय यसैमा खर्चिए मानसिक बौद्धिक चुस्तता पनि बढ्ने र नयाँ सिर्जना पनि हुने हुँदा सलाई त्यसरी नै उपयोग गर्दा सबैको भलो नै हुनेछ ।

हरेक प्राणी आफ्नो जीवनमा आइपर्ने समस्यासंग जुध्न तयार हुन्छ भने हामी चेतनशील मानिस कोरोना महामारीबाट डराएर मात्र हैन कि सचेत रहँदै यसलाई नयाँ सिकाईको अवसर ठानेर सोही अनुसारको अभ्यास किन नगर्ने ? अहिले बालबालिकाका लागि विद्यालय बन्द छन्, कलेज बन्द छ, कार्यालयहरु अद्र्धखुला छन् भने बजार पनि बन्द नै छ । कोरोना संक्रमण रोक्ने एकमात्र उपाय यही मात्र हो । बिरामी भएकाहरुको उपचार गरेर यसको संक्रमण रोकिंदैन, यसलाई रोक्ने भनेको मानिस–मानिसबीचको दूरी कायम गर्नु नै हो । अनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु मात्र हो । यसका लागि हामी घरभित्रै बस्नुको विकल्प छैन । घरभित्र बसिएको यही समयलाई सिर्जनशीलतामा लगाउन सके समस्या समाधान हुने मात्र हैन नयाँ कुरा पनि बाहिर आउनेछ ।

सधैंको भीडभाड, कामको तनाव अनि अव्यवस्थित जीवनशैली र खानपानमा भन्दा संक्रमणबाट पनि बचिने, नयाँ कुरा पनि सिकिने र सिर्जना पनि गर्न सकिने भएकाले यो अधिको साथी कापी र कलम हुनसक्छ । खाली कागजमा केही कोर्दै जाँदा सुन्दर सिर्जना बन्नसक्छ । एकपटक कोसिश त गरौं । त्यो कोसिश आफूसंगै आफ्ना सन्ततिलाई पनि गर्न लगाओं । बेढंगी चलचित्र, सिरियल हेरेर अनि सामाजिक सञ्जालका तुकविनाका पोस्ट, सुझाव र आरोप–प्रत्यारोप हेर्नुभन्दा आफ्नै मनभित्रबाट केही सिर्जना गर्नु बन्दाबन्दीको समय कटाउने सबभन्दा उपयुक्त तरिका हो ।

अहिले सबैभन्दा बढी प्रभावित बालबालिका परेका छन् । परीक्षाको निकट आएर विद्यालय बन्द छन् । उनीहरु अनलाइन कक्षा लिइरहेका छन् । यसलाई सकारात्मक रुपमै लिएर अभिभावकहरु पनि घरमै रहेको यो समयमा उनीहरुलाई बढीभन्दा बढी समय दिने र आफूमा भएको पिता पुर्खादेखिको ज्ञान, सीपका कुरा सिकाउने हो भने त्यो उनीहरुका लागि ठूलो विषय बन्ने छ । आजका बालबालिका सानोभन्दा सानो काममा पनि अरुको भरपर्ने अवस्था छ । यो हामी अभिभावककै कारणले हो र उनीहरुलाई जुत्ताको तुना बाँध्न समेत नलगाएर हामीले परजीवी बनाइसकेका छौं । यो समय उनीहरुलाई आत्मनिर्भर बन्नसक्ने गरी अभ्यास गराउन सकिन्छ ।

हामी नेपालीहरुका लागि अहिलेको समय ‘स्फोट’को हो । कोरोना भारसको नयाँ भेरियन्टको बिस्फोटक अवस्थामा घरभित्रै बस्नुपर्दा नयाँ सिर्जनाको जुन अवसर प्राप्त भएको छ त्यसलाई खेर जान नदिऔं । आफूभित्र लुकेर रहेको तर विविध कारणले प्रकट हुन नसकेको क्षमता उजागर गर्दै रोगब्याधीबाट पनि बच्ने र सिर्जनशीलता पनि बढ्ने यो समयलाई त्यसरी उपयोग गर्न किन पछिपर्ने । किनभने हरेक व्यक्तिमा केही न केही प्रतिभा हुन्छ । फरक कतिपयसंग त्यो प्रतिभा प्रस्फुटन गराउने समय, सामथ्र्य र स्रोत नहुनसक्छ भने कतिपय प्रतिभा स्रोतसाधन विना केवल समयको सदुपयोगले मात्रै पनि हुन्छ । अहिले त्यही गर्ने समय हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button