विश्व समाचार

घटेन भारतमा दैनिक संक्रमित र मृत्यु हुनेको संख्या

शनिबार पनि चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १८ लाख ९२ पुगेको छ । भारतमा लगातार तेस्रो दिन चार लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप चार हजार १८७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या दुई लाख ३८ हजार २७० पुगेको हो ।



हाल विश्वमै कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा पाँच लाख ९४ हजार तथा ब्राजिलमा चार लाख १९ हजारको ज्यान गइसकेको छ ।

भारतमा अझै पनि ३७ लाख २३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७९ लाख ३१ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् ।

भारतमा कोभिड–१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।

गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ७४ लाख व्यक्तिलाई कोभिड–१९ को खोप दिइसकिएको छ । अठार वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।

यसैबीच, बिहीबारसम्म भारतमा कोभिड–१९ को ३० करोड नमुना परीक्षण गरिएको छ । शुक्रबार एकै दिन १८ लाख नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button