भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै हैदराबादले चौथो जित निकालेको हो ।
राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जस बटलरले ५९ बलमा १० चौका र ४ छक्काको सहयोगमा रनको ९५ र कप्तान सामसनले ३८ बलमा ४ चौका र ५ छक्काको सहयोगमा अविजित रहँदै ६६ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै ओपनर यश्सवी जैसवालले ३५ रन बनाए भने शिमरन हिटमायर ७ रनमा अविजित रहे । हैदराबादका लागि भुवनेश्वर कुमार र मार्को यानसनले समान १-१ विकेट लिए । राजस्थानले दिएको २१५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभर अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले ५५ रनको अर्धशतकीय पारी खेले भने राहुल त्रिपाठीले ४७ रन बनाए । यस्तै अनमोलप्रित सिंहले २५ बलमा ३३ रन बनाए भने हेनरिक केल्सनले २६ र ग्लेन फिलिप्सले ६ बलमा १ चौका र ३ छक्काको सहयोगमा २५ रन बनाए ।
राजस्थानका लागि युजभेन्द्र चहलले ४ विकेट लिए भने कुलदिप यादव र रविचन्द्रन आश्विनको भागमा समान १-१ विकेट रह्यो । जितसँगै हैदराबाद १० खेलमा ८ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ भने ११ खेलमा १० अंक जोडेको राजस्थान चौथो स्थानमा कायमै रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्