एन आर एन न्युज

१४ बुँदे प्राग घोषणापत्र जारी गर्दै सम्पन्न भयो एनआरएनए युरोप क्षेत्रीय सम्मेलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपको १५ औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ

यही मे ५ देखि ७ सम्म भएको सम्मेलनमा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एन पी) साउद, विशिष्ट अतिथिका रुपमा पूर्व सभामुख सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय मनिष झा, नेकपा माओवादीका नेता तथा संबिधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो ।

सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरु स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्हरु बीचको सञ्जालको बारेमा छलफल भएको थियो ।

सम्मेलनमा विश्वका ३९ देशका करिब ३ सय प्रतिनिधिहरु सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिहरुको सुझावका आधारमा निम्नानुसारको प्राग घोषणापत्र जारी गरिएको छ ।

गैरआवासीय नेपाली संघ १५ औँ क्षेत्रीय सम्मेलन – प्राग घोषणा-पत्र

१) नयाँ संविधानले गैरआवासीय नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ८ वर्ष पछि पनि अझै कार्यान्वयन नभएको अवस्थामा आम गैरआवासीय नेपालीहरुको चासो रहेको नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो सम्मेलन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ ।

२) गैर आवासीय नेपाली संघको दशौ महाधिवेशन पश्चात समानान्तर गतिविधि गरि रहेका एनआरएनहरुलाइ हाल भैरहेको बार्ताका माध्यम बाट मुलधारमा समाहित भई एकताको एघारौ महाधिवेशनमा सहभागी हुन यो सम्मेलन हार्दिक अपिल गर्दछ ।

३) विदेशमा रहेका नेपालीहरूको पैतृक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकार र राजनीतिक दलहरुसँग यो सम्मेलन अनुरोध गर्दछ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार (मताधिकार) सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिप्रेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो सम्मेलन नेपाल सरकारसँग माग गर्दछ ।

४) आगामी अक्टोबर ९ देखि ११, २०२३, सम्म काठमाण्डौंमा हुने संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि संघको सदस्यता संघले तय गरेको MIS System मार्फत वितरणलाई तीव्र बनाउनको लागि युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई यो सम्मेलन हार्दिक अपिल गर्दछ ।

५) युवा तथा महिलाहरुको सामाजिक उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन पुनः प्रतिबद्धता व्यक्त गर्दै संघको मेघा प्रोजेक्टहरुलाई सफलतापूर्बक अघि बढाउनुको लागि सडक बालबालिका, पढ्दै कमाउंदै जस्ता कार्यक्रमहरु लक्षित समुदायमा शिघ्र शुरु गर्ने प्रतिबद्धता जनाउंदछ ।

६) एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई रु १० अर्बबाट रू ५० अर्ब बनाउने लक्ष्यको साथ समृद्ध नेपाल निर्माणमा थप टेवा पुर्याउन यो सम्मेलन आह्वान गर्दछ । विद्यमान कानूनी अड्चनहरुलाई सम्बोधन गर्दै यसमा सहभागीताको लागि आम गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै शिघ्र कार्यान्वयनमा ल्याउन यो सम्मेलन मार्फत प्रतिबद्धता जनाउंदछ । सो फण्डमा जोडिन चाहने गैरआवासीय नेपालीहरुको लागि यसअघि तोकिएको २५ लाख रुपैयाँ न्यूनतम सिलिङलाई घटाएर २५० डलर मात्र कायम गरिएको छ ।

७) नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने हवाई सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह गर्दछ।

८) नेपाली दूतावास नभएका मुलुकहरु पोर्चुगल, रोमानिया, क्रोयसिया, माल्टा, चेक रिपब्लिक लगायतका देशहरुमा नेपाली राजदूताबास स्थापना गर्न यो सम्मेलन नेपाल सरकार समक्ष पुनः आह्वान गर्दछ । साथैयुरोप क्षेत्रभित्र पर्ने आपत्कालिन अबस्थालाई सम्बोधन गर्न क्षेत्रगतरुपमा फाउण्डेशन मार्फत एक अक्षय कोष स्थापना गर्ने निर्णय गर्दछ ।

९) विभिन्न माध्यमबाट गैरकानूनी रुपमा युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोसिया, सर्भिया, लगायतका मुलुकमा भइरहेको अबैध मानव ओसारपसारलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाई अघि बढ्न यो सम्मेलन राष्ट्रिय समन्वय परिषद्हरुलाई आग्रह गर्दछ ।

१०) गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई आफ्नो मातृभूमिमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आगामी अक्टोबर महिनामा हुने विज्ञ सम्मेलनमा सहभागी हुन विश्वभर छरिएर रहनु भएका विभिन्न विज्ञहरुलाई हार्दिक अपिल गरिन्छ ।

११) नेपाल सरकारद्धारा वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यलाई कार्यान्वयनमा ल्याएको प्रति यो सम्मेलन नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पूर्ण गैरआवासिय नेपालीलाई यो सम्मेलन सो कोषमा आबद्ध हुन आह्वान गर्दछ।

१२) बिश्व युवा सम्मेलन विशेष गरी युवाहरुलाई उद्यमशील बनाउन जोड दिनुपर्ने र गैरआवासीय नेपाली संघसँग युवा तथा दोश्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्वका साथ प्राथमिकतामा राखी संस्थागत रुपान्तरण र संघका दोस्रो पुस्तालाई जोड्ने उदेश्यले आगामी अक्टोबरमा काठमाण्डौंमा विश्व युवा सम्मेलन गर्ने निर्णय गरिन्छ। क्षेत्रिय सम्मेलन – बैठकलाई प्रभावकारी र समयानुकुल परिमार्जन गर्दै उन्नत बनाउन युवाहरुले गर्नु भएको गम्भिर ध्यान आकर्षण बारे यो सम्मेलन गम्भिर हुंदै महत्वका साथ ग्रहण गर्दछ ।

१३)संघको आगामी १६औ यूरोप क्षेत्रिय सम्मेलन गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको आतिथ्याआगामी २०२४ को मे महिनामा आयोजना गर्ने निर्णय गर्दछ ।

१४) अन्त्यमा यस सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न पाल्नुभएका प्रमुख अतिथि ज्यू, विशिष्ट अतिथि ज्यू, अतिथी ज्यूहरु, कार्यक्रम प्रायोजक, स्वयंसेवक, सञ्चारकर्मी, कलाकार, पत्रकार लगायत आयोजक राष्ट्र एनसीसी चेक रिपब्लिक सहित विश्वभरि रहनुभएका गैरआवासीय नेपालीजनमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

गैरआवासीय नेपाली संघ
७ मे, आइतवार, २०२३

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.