जन सरोकार

आइतबारदेखि तोकिएको समयमा मात्र सवारी साधन चलाउन पाइने

सरकारले वैशाख २५ देखि जेठ ५ गतेसम्म थपेको लकडाउनसंगै केही आधारभूत कुराहरुमा छुट दिने निर्णय गरेपछि उपत्यकामा सवारी साधनको आवागमन ह्वात्तै बढेकाले भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा तोकिएको समयभित्र मात्र सवारी चलाउन पाइने भएको छ ।

शनिबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरुबीच भएको छलफलले अब तोकेको समयमा मात्र चलाउन पाउने निर्णय गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालकाअनुसार सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।

त्यस्तै बैंक वित्तीय संस्थाका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ । त्यस्तै कार्यालयहरुमा एक तिहाई मात्र कर्मचारी जाने भनिएकाले दिउँसोको समयमा सामान्यतया आवत जावत नगरौं भनेर समय तोकिएको ढकालले बताउनुभएको छ ।

त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ । निर्माण सामाग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र विहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।

सवारी सञ्चालनमा कडाई गर्ने निर्णय गरिए पनि यसबीचमा अत्यावश्यक मानिएका औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन ।

सम्बन्धित खबर

Back to top button