क्रिकेटखेल

आईपीएलमा मुम्बईको छैटौं जित, बैंगलोर ६ विकेटले पराजित   

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले छैटौं जित निकालेको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै मुम्बईले प्रतियोगितामा छैटौं जित निकालेको हो ।

मुम्बईको घरेलु मैदान वांनखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । बैंगलोरका लागि ग्लेन म्याक्सवेल र कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेल्दै क्रमश: ६८ र ६५ रन बनाए ।

यी दुईले तेस्रो विकेटको लागि १२० रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै दिनेश कार्तिकले १८ बलमा ४ चौका र १ छक्कासहित ३० रनको योगदान दिए । मुम्बईका लागि जेसन बेह्रेनडर्फले ३ विकेट लिए भने कुमार कार्तिके, क्रिस जोर्डन र क्यामरुन ग्रीनको भागमा समान १-१ विकेट रह्यो ।

बैंगलोरले दिएको २०० रनको लक्ष्य मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा सूर्यकमार यादव तथा निहाल वादेराले अर्धशतकीय परी खेल्दै क्रमश: ८३ र ५१ रन बनाए । यी दुईले तेस्रो विकेटका लागि १४० रनको सानदार साझेदारी गरे । यस्तै इशान किशनले २१ बलमा ४ चौका र ४ छक्कासहित ४२ रन जोडे ।

बेंगलोरका लागि विजयकुमार बैशाख र वानिंदु हसरंगाले समान २-२ विकेट लिए । जितसँगै मुम्बई ११ खेलमा ६ जित र ५ हारसहित १२ अंकजोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ५ जित र ६ हारका साथ १० अंक जोडेको बैंगलोर तालिकाको सातौं स्थानमा झरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.