कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत ‘जिउँदो सहिद’ कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उहाँ बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदखि उहाँको अचेत हुनुहुन्थ्यो । कायस्थको बायाँ हात सोत राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो ।
जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका हुनुहुन्थ्यो । उहाँ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो । घाइते भएको १७ वर्षपछि उहाँको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते हुनुभएपछि ओछ्यानमा थला पर्नुभएका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे । उहाँ ओछ्यानबाट कहिल्यै उठ्न सक्नुभएन । परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म हुनुभएको थियो । उहाँ २०७५ असारदेखि थप बिरामी पर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्