अघिल्लो महिना अर्थात् चैत्रमा नै भारतमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको र त्यसको असर नेपालको सीमावर्ती जिल्लामा देखा परिसकेपछि विज्ञहरुले तत्काल प्रभावकारी उपाय चाल्न सुझाव दिंदै अन्यथा थेग्नै नसकिने चेतावनी दिएका थिए । हुन पनि एक महिनाकै बीचमा सवालाखभन्दा बढी संक्रमित थपिए भने एक हजारभन्दा बढीको मृत्यु भयो । वैशाख २६-२८ को बीचमा मृतकको संख्यामा तीनगुणा वृद्धि भयो ।

वैशाख २६ गते आइतबार ८८, सोमबार १ सय ३९ जनाको मृत्यु हुँदा मंगलबार २८ गते मृतक संख्या २ सय २५ पुग्यो । यो संख्याले देखाउँछ नेपालमा कोरोना महामारी कति भयावह बन्दैछ भनेर । अस्पतालहरुमा बेड त कुरै छाँडो गम्भीर संक्रमितका लागि अक्सिजन समेत छैन । अक्सिजनको अभावमा बचाउन सकिने बिरामीको पनि मृत्यु भैरहेको छ ।
हालत यति नाजुक बनिसकेको छ कि अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि उनीहरुले बिरामी स्चिार्ज गर्ने र नयााँ बिरामी भर्ना लिन नसक्ने घोषणा नै गरेका छन् । त्यसैले कोरोना महामारीमा अझै भयावह अवस्था आउन सक्ने जनस्वास्थ्यविद्हरु बताउँछन् । उपचार नै नपाएपछि बचाउन सकिनेलाई पनि बचाउने नकिने अवस्था आएको छ । अस्पतालमा बेड र अक्सिजन अभावको परिणामस्वरुप मृतक संख्या तीब्र रुपमा बढेको हो ।
यस्तो अवस्था तत्काल आएको भने हैन । ११ दिन अघि कोरोना संक्रमणबाट २८ जनाको मृत्यु हुँदैमा संक्रमितले अस्पतालमा बेड पाउन छाडेका थिए । ७ दिनअघि ५३ जना संक्रमितको मृत्यु हुँदा अस्पतालहरुमा अक्सिजनको अभाव चर्किसकेको थियो । तर सरकारले, अस्पतालहरुले अनि सबै निकायहरुले नदेखेझैं गरे । अहिले समस्या समाल्नै नसकिने स्थिमिा पुगेको छ ।
पाटन अस्पतालका कोभिड फोकल पर्सन डा. विमल पाण्डे पछिल्लो समय आईसीयूमा राख्नुपर्ने बिरामीले अस्पतालमा बेड नै नपाउने र भर्ना भएका बिरामीले आवश्यक मात्रामा अक्सिजन नपाउँदा मृत्यु संख्या बढेको बताउनुहुन्छ । अक्सिजन र बेडको अभावको अवस्था हेर्दा अबको केही साता मृत्युको संख्या झन् बढ्न सक्ने उहाँ बताउनुहुन्छ ।
टेकु अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोला अस्पताल आइपुग्ने अधिकांश संक्रमितको फोक्सो बिग्रिसकेको हुने बताउँदै सिकिस्त अवस्थामा अस्पताल आएकालाई उपचारले बचाउन कठिन हुने बताउनुहुन्छ । । सुरुवातमै संक्रमितले सही सल्लाह लिएर औषधि नखाएका कारण अस्पताल आइपुग्दा धेरै ढिलो भइसक्छ, त्यसमाथि अस्पतालमा बेड खोज्दाखोज्दै समस्या जटिल भइसक्ने डा. बाँस्कोटाको अनुभव छ ।
त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास पनि जटिल अवस्थाका बिरामीले समयमा उपचार पाउन नसक्दा मृत्यु बढेको बताउनुहुन्छ । अक्सिजन अभावले अझ यो भन्दा ठूलो ‘डिजास्टर’ हुनसक्ने चेतावनी दिंदै भन्नुहुन्छ, अस्पतालमा यति धेरै सिकिस्त बिरामी आउँछन् कि अक्सिजन दिंदादिंदै पनि बचाउन सकिदैन ।
किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठक मृत्यु बढ्नुमा अक्सिजन अभाव नै मुख्य कारण रहेको बताउँदै अस्पतालको आँगनमा आएका बिरामीलाई अक्सिजन नभएर फर्काउनुपरेको र अर्को अस्पतालमा जाँदा बाटोमै मृत्यु हुने गरेको बताउनुहुन्छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ८९ हजार ९ सय १४ जना संक्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा धेरै संक्रमित हुनु पनि मृत्यु संख्या बढ्नुको कारण हो । जनस्वास्थ्यविद डा शरद वन्तका अनुसार होम आइसोलेसनमा भएकाहरुले ख्याल गर्दा गर्दै पनि सिकिस्त भएको खण्डमा अति आवश्यक सेवा नपाएर अकालमै ज्यान गुमाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्