भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले छैटौं जित निकालेको छ । बिहीबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गर्दै राजस्थानले प्रतियोगितामा छैटौं जित निकालेको हो ।
कोलकत्ताको घरेलु मैदान ईडन ग्राडेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । कोलकत्ताका लागि वेंकटेस अय्यरले ५७ रनको अर्धशतकीय परी खेले भने कप्तान नितिश राणाले २२ रन बनाए ।
त्यस्तै रमिउल्लाह गुर्वाजले १८ रन बनाउँदा रिंकु सिंहले १३ र जेसन रोयले १० रन जोडे । राजस्थानका लागि युजभेन्द्र चहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिँदा सन्दीप शर्मा र केएम आसिफको भागमा समान १-१ विकेट रह्यो । कोलकत्ताले दिएको १५० रनको लक्ष्य राजस्थानले १३ दशमलब १ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो ।
राजस्थानका लागि यशस्वी जैसवालले ४७ बलमा १२ चौका तथा ५ छक्काको मद्दतमा अविजित रहँदै ९८ रनको अर्धशतकीय पारी खेले भने कप्तान सन्जु सामसन ४८ रनमा अविजित रहे । जितसँगै राजस्थान बाह्र खेलमा छ जित र छ हारमा १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा पाँच जित र सात हारका साथ १० अंक जोडेको कोलकत्ता सातौं स्थानमा झरेको छ ।





प्रतिक्रिया राख्नुहोस्