स्थानीयतह निर्वाचन

ठाउँठाउँमा तनाव, कतै मतदान स्थगित, कतै स्थिति नियन्त्रणमा

स्थानीय तह निर्वाचनका क्रममा देशका विभिन्न भागमा तनाव उत्पन्न भएको छ । तनाव र झडपपछि कतिपय ठाउँमा मतदान रोकिएको छ भने कतिपय स्थानमा नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको छ ।

गोरखाको गण्डकी गाउँपालिका-७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।

ज्ञानमार्ग माविको मतदान केन्द्र ‘ख’मा कांग्रेस र माओवादी कार्यकर्ताले मतदानस्थलको बार पनि भत्काएका छन् । विवादका कारण केही समय मतदान प्रक्रिया पनि स्थगित भएको ‘क’ मतदान केन्द्रका सहायक निर्वाचन अधिकृत विमल रेग्मीले बताउनुभयो ।

यसै गरी सिन्धुपाल्चोकको मेलम्ची–४ मा तनाव उत्पन्न भएको छ । अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ ।

त्यसै गरी बाराको सिम्रौनगढ नगरपालिका २ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ ।

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button