स्थानीयतह निर्वाचन

मोरङमा ११३ र कञ्चनपुरमा १०२ वर्षीयाद्वारा मतदान

जसलाई भोट दिए पनि के हुन्छ र भन्दै मतदानमा चासो नदिने युवाहरुका अगाडि शताब्दी आयू पार गरेकाहरुले भने मतदानको महत्व कति हुन्छ भन्ने उदाहरण दिएका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गर्नुभएको छ । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गर्नुभएको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिनुभयो । अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गर्नुभएको हो ।

उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताउनुभयो । नगरमा ७१ हजार ७५६ मतदाता रहेका छन् ।

त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गर्नुभएको छ । मतदान अधिकृत महेशराज भट्टका अनुसार वैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुर ‘ख’ मतदान केन्द्रमा उहाँले पहिलो मत खसाल्नुभएको हो ।

ज्येष्ठ नागरिक यशोदाका छोरा जनकराज पनेरुले उहाँले रुचाएका उम्मेदवारलाई मतदान गर्न सघाउनुभयो । पञ्चायती व्यवस्थादेखि आफू हालसम्म निरन्तररुपमा मतदानमा सहभागी हुँदै आएको यशोदाले बताउनुभयो ।

“गाउँको विकासमा योगदान गर्नसक्ने उम्मेदवारलाई मतदान गरेँ”, उहाँले भन्नुभयो, “सबैजनाले योग्य उम्मेदवारलाई मतदान गरी पुण्य कमाउनुपर्छ । मतदान गर्नु पनि तीर्थ गएसरह नै हो । विजयी हुने उम्मेदवारले मतको कदर गरी नाम कमाउनुपर्छ ।”

“आमाले मतदान गर्ने इच्छा व्यक्त गर्नुभयो, “यशोदाका छोरा जनकराज पनेरुले भन्नुभयो, “मोटरसाइकलमा बोकेर मतदान केन्द्रसम्म पुर्यायौँ र मतदानपश्चात् घर पुर्याएका छौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.