एमालेले गठबन्धनभन्दा बढी सिट जित्ने ओलीको दावी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबिरुद्ध एमाले एक्लै चुनावी मैदानमा उत्रिए पनि गठबन्धनभन्दा बढी सिटमा जित हाँसिल गर्ने दावी गनुभएको छ ।
![Oli Voting](https://www.nepaljapan.com/wp-content/uploads/2022/05/Oli-Voting-e1652439899168.jpg)
आज सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा (क) बाट मतदान गरेपछि उहाँले सो टिप्पणी गर्नुभएको हो ।
मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लोकतान्त्रिक पद्दतिअनुसार देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्णरुपमा उत्साहजनकरुपमा मतदाताले मतदान गरेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीसँगै आउनुभएकी उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि मतदान गर्नुभएको छ ।
यसबीच भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ ।
जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन् ।
प्रतिक्रिया राख्नुहोस्