राप्रपाद्वारा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही माग गर्दै जिप्रकामा ज्ञापनपत्र हस्तान्तरण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीलाई थप अनुसन्धान गरी दोषीउपर कडा कानूनी कारबाही अगाडि बढाउनुपर्ने माग गर्दै शुक्रबार अपराह्न जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।
राप्रपा मकवानपुरका अध्यक्ष शिवराम थापाले मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई शुक्रबार एक कार्यक्रमबीच ज्ञापनपत्र बुझाउनुभयो ।
ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका दोषीहरूलाई कानूनको कठघरामा ल्याई कारबाही अगाडि बढाउन र उक्त घटनामा संलग्न नरहेका व्यक्तिलाई प्रतिशोधको आधारमा अपमानजनक व्यवहार र थुनछेक गर्न नहुनेतर्फ पनि ध्यानाकर्षण गरिएको छ ।
राप्रपा केन्दीय समितिको आह्वानबमोजिम राप्रपा मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
त्यसैगरी राप्रपा हुम्लाले पनि नक्कली भूटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै हुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपा हुम्लाका अध्यक्ष विकासबहादुर महतले ज्ञापनपत्र बुझाउनुभएको हो ।
त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । राप्रपाले भ्रष्टाचारविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्