भ्रष्टाचारी पाल्ने दललाई जनताले फाल्ने छन् : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकलाई भ्रष्टाचारमुक्त गर्न सबै जनता तयार रहेको र यसका लागि नेताहरु पनि तयार हुनुपर्ने बताउँदै अब भ्रष्टाचारी पाल्ने दललाई जनताले फाल्ने बताउनुभयो ।
काठमाडौंको नक्सालमा शनिबार आयोजित भ्रष्टाचारविरोधी नागरिक अभियानमा सहभागी पुग्नुभएका लामिछानेले पुराना दलहरुले भ्रष्टाचारका फाइल धुलो बनाएर राखेका भए पनि अब ती फायल खोलिने र धुलो टक्टकिने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण अन्य दलहरु दबावमा परेको दावी गर्दै अब भ्रष्टाचारका सबै फायल खोलिने बताउँदै विगतमा दलहरुले भ्रष्टाचारका पुराना फाइलहरु थाती राखेको भन्दै अब त्यो सम्भव नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले त सुन्नेवित्तिकै कारबाही गर्यौं, ७२ घण्टाभित्र साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्यौं, केही दलहरु छन्, वर्षौ पुराना भ्रष्टाचारका पुराना फाइल टन्न थाती राखेर धुलो लगाएर राख्छन् । अनि संरक्षण गर्छन् ।”
वैशाख १० गते सम्पन्न उपनिर्वाचनको केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायीसंग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको थियो ।
लामिछानेले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नु र नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुमा आफूहरुको भूमिका रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्