युरोपेली सङ्घद्वारा नेपाललाई २८ करोड बराबरको मानवीय सहायता परिचालन
कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (इयु)ले रु २८ करोड बराबरको मानवीय सहायता परिचालन गरेको छ । सहयोगस्वरुप प्राप्त रकमबाट अक्सिजन सिलिण्डर, अक्सिजन सङ्केन्द्रक, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण साधन खरिद एवं आपूर्ति गरिनेछ ।

महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी ‘टेलिहेल्थ–टेलिमेडिसिन’ बिरामीलाई कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि उक्त रकम परिचालन गरिएको ब्रसेल्सस्थित सङ्घको प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी सङ्घको सदस्य राष्ट्र फिनल्याण्डले शल्यचिकित्सामा प्रयोग हुने २० लाखभन्दा बढी ‘मास्क’, तीन लाख ५० हजार एफएफपीटू मास्क, ५२ हजार ५०० जोर पञ्जा र ३० हजार थान एकान्तबास पोशाक नेपाललाई प्रदान गर्ने जनाइएको छ ।
यसअघि युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गर्नुभएको थियो ।
आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड–१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह गर्नुभएको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।
खोप, अत्यावश्यक औषधि तथा जीवनदायी औषधि आपूर्तिका लागि उहाँले गर्नुभएको आग्रहको जवाफमा आयोगका अध्यक्षले युरोपेली सङ्घका संयन्त्रमार्फत महामारीविरुद्धको नेपालको लडाइँमा सघाउने आश्वासन दिनुभएको उक्त दूतावासले जनाएको छ ।
राजदूत राजभण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अध्यक्ष लिएनमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्