एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक : राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि छलफल
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले महाधिवेशनका लागि तयार प्रतिवेदन अनुमोदनका लागि केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा प्रस्तुत राजनीतिक र साङ्गठनिक प्रतिवेदन थप समृद्ध बनाउनका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा समाजवादी कार्यक्रम र विधान प्रतिवेदनमाथि थप छलफल गर्न केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरेको छ । बैठकमा सम्मानित नेता झलनाथ खनालले प्रस्तुत गर्नुभएको पार्टीको समाजवादी कार्यक्रम र उपाध्यक्ष डा बेदुराम भुसालले पेश गरेको विधान प्रतिवेदन पनि केन्द्रीय कमिटी सदस्यको सुझाव समावेश गरी परिमार्जन गर्ने निर्णय गरिएको छ । बैठकमा ४१ जना नेताले सुझाव दिनुभएको थियो ।
केन्द्रीय कमिटी बैठक भोलि मङ्गलबारदेखि बस्दै छ । आगामी जेठ २ गतेसम्म चल्ने उक्त बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने जनाइएको छ । पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।
प्रतिक्रिया राख्नुहोस्