राष्ट्रिय संस्कृति नीति कार्यान्वयन गरिने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरिने
नेपाल सरकारले राष्ट्रिय संस्कृति नीतिलाई कार्यान्वयन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा मंगलबार वाचन गर्नुभएको आगामी वर्षको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय संस्कृति नीतिलाई कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । राष्ट्रिय संस्कृति नीति विसं २०६७ मा जारी गरिए पनि कार्यान्वयन हुन नसकेको भन्दै आलोचना हुने गरेको थियो ।
राष्ट्रिय महत्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गरिने नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । राष्ट्रिय अभिलेखालयलाई जनशक्ति र बजेट नदिएको गुनासो भइरहेका बेला सरकारले राष्ट्रिय महत्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गर्ने नीति अघि सारेको हो । मौलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र विकास गरिने भएको छ ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरिने
सरकारले जानकी मन्दिर लगायतका महत्वपूर्ण सम्पदालाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्ने भएको छ । सांस्कृतिक तथा धार्मिकस्थलको पर्यटकीय विकासका लागि संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किरात सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवद्र्धन गरिने राष्ट्रपति पौडेलले वाचन गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाहरूको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान निर्माणलाई तीव्रता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
समाज रूपान्तरणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित ऐतिहासिक चलचित्र, गीत, सङ्गीत, अनुसन्धान तथा स्वदेशी चलचित्रको प्रवर्द्धन गर्न “परिवर्तनका लागि कला र साहित्य कार्यक्रम” सञ्चालन गरिने व्यवस्था सरकारले मिलाएको छ ।
प्रतिक्रिया राख्नुहोस्