दुर्गम हिमाली जिल्लाका गाउँगाउँमा फैलियो कोरोना
घना बस्ती रहेको, व्यस्त शहरी क्षेत्रमा तबाही मच्चाइरहेको कोरोना भाइसको नयाँ भेरियन्टले दुर्गम हिमाली जिल्लालाई पनि आफ्नो पञ्जामा पार्न थालेको छ । केही समय यता हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा सीमित रहेको कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरूमा गाउँमा समेत देखिएको छ । सङ्क्रमण गाउँमा वृद्धि भएसँगै स्थानीयबासी चिन्तित हुन थालेका छन् ।
बुधबार सर्केगाड गाउँपालिकामा गरिएको कोरोनाको एन्टिजिन परीक्षणका क्रममा दुई जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना गाउँमा प्रवेश गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सो परीक्षणका क्रममा गाउँपालिका स्वास्थ्य संयोजक सहित अन्य दुईमा सङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी बाजुरासँग सिमाना जोडिएको ताँजकोट गाउँपालिकामा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाले बुधबार र बिहीबार गरेको परीक्षणका क्रममा १३ पुरुष र ५ महिलामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिनुभयो । बुधबारदेखि स्वास्थ्यकर्मीका दुई टोली बनाएर परीक्षण गरिएको थियो । उहाँले भन्नुभयो, “गाउँमा गाउँमा खटिएका टोलीले परीक्षण गर्ने क्रम जारी नै रहेकाले बिहीबार बेलुकासम्म्म १८ पुगेको हो ।”
सङ्क्रमित हुनेमा सबैभन्दा बढी वडा चारका दश जना छन् । लामो समयदेखि घरमै बिरामी परेकाहरू मध्येका अधिकांशमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य संयोजक स्यांकुले जानकारी दिनुभयो । मैला स्वास्थ्य चौकीबाट गएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा चार मध्ये तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । ताँजकोटका एक जनाको रिर्पोट भने नेगेटिभ आएको बताइएको छ ।
परीक्षण गर्न चार टोली परिचालन
हरेक वडामा बिरामीको सङ्ख्या देखिएपछि आफैले एन्टिजिन कीट खरीद गरेर बुधबारबाट परिक्षण शुरुआत गरेको ताँजाकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष बागदल मल्लले कारोना परीक्षणमा तीब्रता दिइएको जानकारी दिनुभयो । “सङ्क्रमणको दर वृद्धि भएपछि परिक्षणको दायरामा ल्याउने योजनाका साथ स्वास्थ्यकर्मीका चारवटा समूह परिचलान गरेको हौं ”उहाँले भन्नुभयो, “परीक्षणबाट सङ्क्रमण पुष्टि भएकाहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा केहीलाई मैला स्वास्थ्य चौकीमा र केहीलाई घरमै बेग्लै राख्ने काम गरेका छौं ।”
सङ्क्रमणको जोखिम रहेको ताँजाकोट–३ रामागाउँका स्थानीयबासीले एन्टिजिन परीक्षण गर्न मानेका छैनन् । सिमकोटमा समेत बिहीबार थप २ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल हुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७ र ४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचाना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । जिल्लाभर सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । ती मध्ये आठले कोरोना जितेर घर फर्किएका छन् ।
प्रतिक्रिया राख्नुहोस्