राजनीति

गठबन्धनबाट राम्रो सहकार्य भएन : माधव नेपाल

स्थानीय तहको निर्वाचन २०७९ मा पाँच दलीय गठबन्धनमा सामेल भएर राम्रो मतपरिणाम ल्याउने आश गरेको नेकपा एकीकृत समाजवादीले सोचे जस्तो परिणाम नआएपछि गठबन्धनका घटकबाट पनि राम्रो सहकार्य नपाएको टिप्पणी गरेको छ ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार पार्टी कार्यालयमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसक्नुमा गठबन्धनका घटकबाट पनि राम्रो सहकार्य नपाएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको निर्वाचन परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्ने जति छैन । कतिपय ठाउँमा राम्रै अवस्था पनि छ । अझै पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं । हामीसँग गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न चाहेनन् ।’

अध्यक्ष नेपालले निर्वाचन र गठबन्धनबीच सहकार्यको गम्भीर समीक्षा आफूहरुले गर्ने र परिणाम जेसुकै आए पनि पार्टीलाई जनताको बीचमा बलियो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो यो पार्टीलाई जनताको बीचमा क्रियाशील बनाउनुपर्ने छ । जनताको प्यारो पार्टीका रुपमा अगाडि बढाउनुपर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button