राजनीति

महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट सिधा उडान अनुमति देला भारतले

बुद्धजयन्तीका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउनुभयो । त्यहाँ दुई देशका प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलबीच छलफल र समझदारीपत्रमा हस्ताक्षर पनि भयो ।

छलफलका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्नुभयो ।

सोमबार नै नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन भएको थियो भने कुवेतको जजिला एयरले व्यावसायिक उडान समेत गरेको थियो ।

यसै सन्दर्भमा प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको आवागमनलाई थप सहज बनाउन उक्त विमानस्थल उपयुक्त हुने भएकाले थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

वार्ताका क्रममा प्रधानमन्त्री देउवाले आपसी हितका लागि दीर्घकालीलनरूपमा विद्युत् व्यापार गर्न आग्रह गर्नुभएको थियो । पराराष्ट्र मन्त्रालयका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजना सुचारु रूपमा अगाडि बढिरहेकामा दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि प्रकट गर्नुभएको थियो ।

वार्ताका क्रममा प्रधानमन्त्री देउवाले उठाउनुभएका विषयलाई भारतीय प्रधानमन्त्री मोदीले सकारात्मकरूपमा लिनुभएको छ । तर, जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट सिधा हवाई सम्पर्कको प्रस्तावबारे कुनै टिप्पणी नै गरिएन ।

नेपालको आर्थिक विकासमा पर्यटनको ठूलो महत्व हुने र यसका लागि लुम्बिनी नजिकै अन्तर्राष्ट्रिय विमानस्थल सचालनमा आइसकेको तथा सीता जन्मभूमि जनकपुरमा पनि सिधा हवाई सम्पर्क भए त्यसले सुनमा सुगन्ध थप्नेछ ।

नेपाल र भारतबीच अन्योन्याश्रित सम्बन्ध रहेको र नेपालबिना भारतको नाम समेत अधुरो रहने भारतीय प्रधानमन्त्री मोदीले भाषणका क्रममा त बोल्नुभयो, तर व्यवहारतः नेपाललाई अधिक लाभ हुने हवाई सम्पर्कमा चासो कत्तिको दिनुहुनेछ त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button