स्थानीयतह निर्वाचन

ढोरपाटनमा एमाले, निसीखोलामा कांग्रेस र बरेङमा जनमोर्चा विजयी

बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का देवकुमार नेपाली विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई छ सय मतले पछि पार्दै नेपाली प्रमुखमा चुनिनुभएको हो ।

नेपालीले पाँच हजार ७३५ मत ल्याउँदा अर्यालले जम्मा पाँच हजार १३५ मत प्राप्त गर्नुभयो । त्यहाँको उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । पाँच हजार ६५० मतसहित नेपाली कांग्रेसका धनबहादुर कायत विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चा (विद्रोही समूह) की ताराकुमारी पुनले चार हजार ८८४ मत प्राप्त गर्नुभयो । ढोरपाटनमा एमालेले चार, कांग्रेसले एक, माओवादी केन्द्रले एक, राजमोले दुई र राजमो (विद्रोही समूह)ले एउटा वडा जितेको छ ।

यस्तै बरेङ गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार शर्माले तीन हजार ६०१ मत प्राप्त गरी एमालेका प्रदीप थापालाई पराजित गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी थापाले दुई हजार २३२ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका दिलीपकुमार पुन विजयी हुनुभएको छ । पुनले तीन हजार ६८२ मत ल्याउनुभयो भने निकटतम प्रतिस्पर्धी एमालेका दुर्गा कार्की थापा क्षत्रीले एक हजार ९५५ मत प्राप्त गर्नुभएको छ ।

निसीखोला गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । अध्यक्षमा कांग्रेसका सूर्यबहादुर घर्ती र उपाध्यक्षमा माओवादी केन्द्रका प्रेम घर्ती विजयी हुनुभएको हो । अध्यक्षमा निर्वाचित घर्तीले पाँच हजार ५११ र उपाध्यक्षमा निर्वाचित प्रेम घर्तीले पाँच हजार मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षका अर्का प्रत्यासी एमालेका भूमिराज घर्तीले दुई हजार ६३९ र उपाध्यक्षका उम्मेदवार एमालेका भोटु चन्दले दुई हजार ९०८ मत ल्याउनुभएको छ । यहाँको ताराखोला, तमानखोला गाउँपालिका र गलकोट नगरपालिकाको अन्तिम मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।

ताराखोलामा माओवादी केन्द्र, तमानखोला र गलकोटमा नेपाली कांग्रेस विजयी बनेको छ । बागलुङ, जैमिनी नगरपालिका, बडिगाड र काठेखोला गाउँपालिकामा मतगणना जारी छ । यी चारै स्थानीय तहमा पनि गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । विसं २०७४ को चुनावमा चार स्थानीय तह जीतेको एमालेलाई यो पटकको चुनावमा गठबन्धन भारी पर्ने देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.