नक्कली शरणार्थी प्रकरणका अभियुक्तलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराध सहित ४ वटा कसुरमा मुद्दा चलाउन माग गरेको छ ।
राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान राज्यशक्तिको दुरुपयोग केबल अंकको भ्रष्टाचार मात्र नभएर राज्यबिरुद्धको अपराध भएको निष्कर्ष निकालेको हो ।
जेठ १ गतेदेखि ३ गतेसम्म चलेको बैठकपछि राप्रपा प्रवक्ता सगुन लावतीले जारी गरेको विज्ञप्तिमा “नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कीर्ते लगायतका कसुरमा कारवाही चलाउन राप्रपा जोडदार माग गर्दछ” भनिएको छ ।
यसै गरी राप्रपाले माओवादी लडाकु शिविरको घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइड बडी जहाज खरीद काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा तत्काल छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन पनि माग गरेको छ ।
उसले २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन सरकारसँग माग पनि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्