विश्व समाचार

हत्या प्रयासपछि स्लोभाकियाका प्रधानमन्त्रीको अवस्था चिन्ताजनक

स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको उहाँका उपप्रमुखले बिहीबार बताउनुभएको छ । अधिकारीहरूले फिकोको जीवन बचाउने प्रयास गरेको एक दिनपछि शान्त रहन र युरोपेली सङ्घ (इयु) को निर्वाचन अभियान निलम्बन गर्न आग्रह गरेका छन् ।

सरकारले ‘राजनीतिक हमला’ नाम दिएको गोलीबारीले युरोपेली संसद् निर्वाचनको केही साताअघि बढ्दो ध्रुवीकरण वा त्योभन्दा धेरै हिंसाको आशङ्का उत्पन्न गरेको छ । स्लोभाकियाको राजनीति वर्षौंदेखि युरोप समर्थक र राष्ट्रवादी झुकाव खेमाबीच विभाजित छ । पछिल्लो निर्वाचन गलत सूचना, आपसी आरोप र सामजिक सञ्जालमा आक्रमणबाट प्रभावित भएको छ ।

स्लोभाकियाका नवनिर्वाचित राष्ट्रपति पिटर पेलेग्रिनीले पत्रकारहरूसँग भन्नुभयो, “म स्लोभाकियाका सबै राजनीतिक दललाई उनीहरूको युरोपेली निर्वाचन अभियानलाई अस्थायीरूपमा निलम्बन गर्न वा अत्यन्त कम गर्न आह्वान गर्दछु ।”जुनमा पदभार ग्रहण गर्नुहुने फिकोका सहयोगी पेलेग्रिनीले स्लोभाकियाका निवर्तमान राष्ट्रपति जुजाना क्यापुटोभासँग एक संयुक्त वक्तव्यमा ‘थप टकराव’ बाट बच्नुपर्ने बताउनुभयो ।

दुवै राजनीतिज्ञले प्रतिद्वन्द्वी राजनीतिक खेमाको प्रतिनिधित्व गर्नुहुन्छ तर क्यापुटोभाले ‘घृणाको दुष्चक्र’ अन्त्य गर्न आग्रह गर्दै ‘यो तनावपूर्ण अवस्थामा समझदारीको सङ्केत पठाउन चाहेको’ बताउनुभयो ।

गोली लागेपछि ५९ वर्षीय प्रधानमन्त्री फिकोलाई बचाउन सङ्घर्ष गर्दै सर्जनहरूले अपरेसन थिएटरमा धेरै घन्टा बिताएका छन् । बैठकपछि जनताका सदस्यहरूसँग कुराकानी गरिरहँदा उहाँमाथि गोली प्रहार भएको थियो । चिकित्सकहरूले फिकोको अवस्था स्थिर बनाएको भन्दै उपप्रधानमन्त्री रोबर्ट कलिनकले भन्नुभयो, “तर दुर्भाग्यवश चोटहरू जटिल भएकाले उहाँको अवस्था अहिले पनि अत्यन्त गम्भीर छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.