जन सरोकार

चिउराकै भरमा पैदल यात्रा– दालभात कस्तो हुन्छ भन्ने भैसक्यो

दैलेख डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगर लगायतको पाँचजनाको टोली रसुवा जिल्लाबाट हिँडेको सोमबार नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनन् ।  प्रहरीले जान नदिएपछि बबईमा थन्किएका छन् ।

हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरूको घर निर्माण गर्न पुगेको उनीहरूको ज्यालादारी काम दुईसाता नपुग्दै रोकियो । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि कामविहीन भएको हर्कबहादुरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लकडाउन खुलेपछि घर फर्कने आश गर्दै करिब दुई महिना बित्न थाल्यो । कमाउने आधार बन्द हुँदा खान बस्न समस्या भयो । बन्दले गाडी पाउन सक्ने अवस्था रहेन । त्यसपछि हिँड्न बाध्य भयौँ । नौ दिनपछि आज आफ्नै प्रदेशको मूलद्वारमा आएका छौँ ।” अर्का मजदुर कर्णबहादुर बुढामगरले नौ दिनसम्म चिउरा र चाउचाउ खाएर मात्र पैदलयात्रा गरेको बताउनुभयो । रासससँग दुःखेसो पोख्दै बुढामगरले भन्नुभयो, “बाटोमा कतै पनि खाना पाइएन । चिउरा र चाउचाउ पनि कठिनले पाउने अवस्था रह्यो ।” यति दुःखका साथ आफ्नै प्रदेशमा पुगेर घर पुग्ने अवस्था असहज भएपछि भने निकै दुःख लागेर आएको उहाँको भनाइ थियो ।

उहाँले सरकारले घर पुर्याएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने बताउनुभयो । यता डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र मल्लले प्रदेश सरकारले दैलेख–सुर्खेतको सीमा पुर्याएपछि मात्र आफूहरूले बुझ्ने रासससलाई जानकारी दिनुभयो । “हामीलाई बबई नाकाबाट आफैँले ल्याउने अनुमति छैन”, अध्यक्ष मल्लले भन्नुभयो, “यसका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको छ ।”

दालभात कस्तो हुन्छ भन्ने भइसक्यो

पोखराबाट हिँडेर सात दिनपछि कर्णाली प्रदेशको बबई सीमानाकामा पुगेका मुगु खत्याड गाउँपालिका निवासी पञ्चबहादुर रावतले पैदल अवधिभर खाना नपाएको गुनासो गर्नुभयो । मजदुरीका लागि पोखरा गएका उहाँले नेपाल सरकारले गरेको लकडाउनले काम गर्ने ठाउँ नै बन्द भएपछि कमाउने आधार सकिएको बताउनुभयो । “कमाएको पैसा यो बीचमै सकियो । त्यसपछि त्यहाँबाट हिँडे”, रावतले भन्नुभयो । दाङ पुगेपछि भने रसुवाबाट फर्केका डुङ्गेश्वर गाउँपालिका दैलेखका साथीहरूसँग भेट हुँदा यात्रा अलि सहज भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सात दिनको १४ छाक चाउचाउ र चिउरा खाएरै पैदल हिँडिएको छ । दालभात कस्तो हुन्छ भन्ने भइसक्यो । बाटोमा खानबस्न कसैले नदिँदा यात्रा झनै कष्टकर बन्यो ।” कर्णाली प्रदेशका थुप्रै बबई पुग्दा पनि मुगु पुग्ने यात्राको टुङ्गो नलाग्दा घर पुग्ने पिरलोले सताएको उहाँले दुःख व्यक्त गर्नुभयो । गाउँकै स्थानीय क्वारेन्टाइनमा बस्ने भन्दै रावतले सुर्खेत, दैलेख, कालीकोट, बाजुरा भएर मात्र मुगु सकिने भएकोले घरसम्म पुर्‍याइदिन सरकारलाई आग्रह गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारीले बबई पुग्ने सबै कर्णालीवासीलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको समन्वयमा जिल्ला पठाइने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.