भारतले हस्तक्षेप गरेको भूमिसहितको नेपालको नयाँ नक्सा यस्तो छ
भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा तत्काल लागू गर्ने गरी मन्त्रिपरिषदले पारित गरेको छ । सोमबार सरकारले विगतमा छुटेको नेपालको अन्तर्राष्ट्रिय सीमासहित समेटेर तयार पारिएको नक्शा पारित भएसँगै तत्काल प्रयोगमा आउने भएको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सार्वजनिक नक्शा तत्काल लागू हुने जानकारी दिनुभयो । उहाँले नक्सा बमोजिम नै निशाना छापहरु, सरकारी कामकाजमा प्रयोग गर्ने नक्साहरु, विद्यालयमा पठाइने पाठ्यपुस्तकहरु र सार्वजनिक प्रयोगमा ल्याइने नेपालको नक्सा यही अनुसार नै अब अध्यावधिक हुने बताउनुभयो ।
सरकारले प्रशासनिक र राजनीतिक प्रबन्ध पनि समेटेर नयाँ नक्शा पारित गरेको हो । नक्शामा नेपालको पश्चिम उत्तरी सीमाना लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । नया नक्सामा हाम्रा अन्तराष्ट्रिय सिमानाहरुमा खासगरी नेपालको पश्चिमी उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।
नक्सामा नेपालको संघियता अनुरुपका प्रदेश, स्थानीय तहहरु पनि समेटिएका छन् । अन्तराष्ट्रिय अन्य सिमाहरु यथावत नै छन् ।