नेपालको नयाँ नक्सा अनुसार संविधान संशोधन गरिने : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पारित गरेको नेपालको नयाँ नक्सा अनुसारको प्रावधानका लागि नेपालको संविधानन संशोधनका लागि संसदमा प्रस्ताव गरिने बताउनुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले नक्सा सार्वजनिक भएपछि नयाँ नक्सा अनुसार संविधानको अनुसूची संशोधन गर्ने बताउनुभएको हो ।
सम्बोधनका क्रममा उहाँले सिंगो देश खुसी हुने गरी लिम्पियाधुरा समेटिएको नेपालको नक्सा जारी गरिएको र यो कुनै बनावट नभएर मिचिएको नेपाली भूमि फिर्ता ल्याउने पहल भएको बताउनुभयो । उहाँले सोमबार मन्त्रिपरिषदले नक्सा पारित गरेसंगै छपाईमा गएको र एक दुई दिनमै सकिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो भारतले हिजोसम्म विवादित भूमि भन्थ्यो तर त्यो नेपाली भूमि हो, हामीले कुनै अर्घेल्याई गरेका छैनौं भारतले नै बलपूर्वक अतिक्रमण गरेको हो र उसले त्यो भूमि फिर्ता गर्नुपर्छ, नेपालले फिर्ता ल्याएरै छाड्छ ।
नेपालको नयाँ नक्सा जारी भएपछि संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सा र निसाना छाप सोही अनुसार हुनु पर्नेछ । त्यसपछि यसको सार्वजनिक प्रयोग हुनेछ ।
संविधान संशोधनपछि पाठ्यपुस्तकदेखि अन्य तमाम कुरामा यो स्थापित हुने र यसले नेपालको मानचित्रमा नयाँ परिवर्तन ल्याउने बताउँदै प्रधानमन्त्री ओलीले भारतको प्रतीकमा चारतिर फर्केको सिंह रहेको र त्यसमुनी सत्य मेव जयते लेखिएको हुँदा भारतले त्यो नमानेपछि आफूले विश्वास गर्ने र भारतसमक्ष सत्य मेव जयतेमा विश्वास गर्ने कि चारमुखे सिंहमाथि भन्दै आफूले प्रश्न गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्