सांसदद्वारा नयाँ नक्सा बनाउने सरकारी निर्णयको स्वागत गर्दै तत्काल जारी गर्न माग
![Parliament 2077](https://www.nepaljapan.com/wp-content/uploads/2020/05/Parliament-2077-1.jpg)
प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेपाल सरकारको आगामी आबको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्दै सांसदहरुले तत्कालै नक्सा सार्वजनिक गर्न माग गर्नुभएको छ । यसका लागि सरकारलाई संसद् र राजनीतिक दलले पूर्ण सहयोग गर्नेसमेत उहाँहरुले प्रतिबद्धता जनाउनुभएको छ । सांसदहरुले कोभिड–१९ को असर कम गर्न र सङ्क्रमण रोक्नका लागि आवश्यक कदम चाल्न पनि सरकारसँग माग गर्नुभएको छ ।
कालापानी लिम्पियाधुरा लिपुलेकलाई समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयको स्वागत गर्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भन्नुभयो, “सडक उद्घाटन गरेपछि मात्रै थाहा हुने अवस्था किन आयो रु कसका त्रुटिले हो रु जवाफ चाहियो ।” उहाँले कूटनीतिकरूपमा छिमेकी देशसँग छलफल कति भयो जानकारी भन्दै जानकारी माग गर्नुभयो । उहाँले कोभिड–१९ को सङ्क्रमण रोक्न पछिल्लो समयमा भइरहेको गतिविधिबारे जानकारी दिनसमेत माग गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णयको स्वागत गर्दै उक्त विषयमा विभिन्न आशङ्का उब्जिरहेको बताउनुभयो । उहाँले नक्साको कदापि दुरुपयोग नहुने विश्वास व्यक्त गर्नुभयो ।
सांसद प्रेम सुवालले सरकारले स्वीकृत गरेको नक्सा सार्वजनिक किन नगरेको भन्दै प्रश्न उठाउनुभयो । उहाँले नयाँ नक्साअनुसार काँडेतार लगाउनसमेत सरकारलाई सुझाव दिनुभयो । अर्का सांसद डा अमरेशकुमार सिंहले प्रदेश नं २ मा कोरोना प्रभावित र मजदुरको अवस्था दयनीय भएकाले तत्कालै व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले कर्णाली र प्रदेश नं २ लाई नीति तथा कार्यक्रममा सरकारले सम्बोधन नगरेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीको चपेटामा परेका विपन्नका लागि राहत प्याकेज ल्याउन माग गर्नुभयो । राहत प्याकेजबारे उहाँले प्रधानमन्त्रीको धारणा माग गर्नुभयो । उहाँले साना, मझौला उद्यमी, पर्यटन व्यवसायी तथा नीजि क्षेत्रको आत्मविश्वास अभिवृद्धिका लागि सरकारले अघि सारेको योजनाबारे जानकारी दिन आग्रह गर्नुभयो ।
अर्का सांसद मीनबहादुर विश्वकर्माले लकडाउनका कारण उद्योग, व्यवसाय, होटल उत्थानका विषयमा नीति तथा कार्यक्रममा ठोस कुरा उल्लेख नभएको भन्दै गुनासो गर्नुभयो । सांसद सत्यनारायण शर्मा खनालले लकडाउनले भोको बस्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरुका लागि सरकारले ल्याउन लागेको कार्यक्रमबारे प्रष्ट पार्न माग गर्नुभयो ।
सांसद भारत शाहले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाए पनि चीनले त्यस्तैै बाटो नबनाएसम्म सञ्चालन नहुने भएकाले चीनलाई पनि त्यस्तै कूटनीतिक नोट पठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यस विषयमा सरकारको तयारी के छ भन्दै उहाँले प्रधानमन्त्री ओलीको जवाफ माग्नुभयो ।
सांसद डिला सङ्गौलाले खाना नपाएर कोही मर्नु पर्दैन भन्दै प्रधानमन्त्रीले उल्लेख गरेको कुरा व्यवहारमा लागू गर्न माग गर्नुभयो । विदेशमा खान नपाएर भोकै मर्न लागेको अवस्था जगजायर भएकाले उनीहरुलाई तत्कालै उद्धार गरेर ल्याउन उहाँले माग गर्नुभयो ।
सांसद पुष्पा भुषाल गौतमले कोरोनामाथि विजय हासिल गर्ने प्रधानमन्त्रीको सङ्कल्प रहे पनि मुलुकभरको क्वारेन्टाइनको अवस्था कमजोर रहेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उमा रेग्मीले भारतीय सेना प्रमुखले दिएको अभिव्यक्तिको विषयमा सरकारको प्रतिक्रिया नआउनु दुःखद् कुरा भएको बताउनुभयो
सांसद उमाकान्त चौधरीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा ठोस कार्यक्रमबारे र कोरोनाका कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल भित्र्याउने विषयमा सरकारको तयारीबारे जानकारी माग गर्नुभयो । सांसद भीमसेनदास प्रधानले सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार नेपालको नक्सा तत्काल सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसद महेन्द्रराय यादवले प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्ने कुरा ल्याएकामा खुशी व्यक्त गर्दे विगतमा संविधान संशोधन गर्न राखिएको मागको सम्बोधन हुन नहुनेबारेमा प्रष्ट्याउन पनि माग गर्नुभयो । कोरोना प्रभावितको व्यवस्थापनमा ध्यान दिनसमेत सरकारसँग आग्रह गर्नुभयो ।
काँग्रेसका सांसद मीनेन्द्रप्रसाद रिजालले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा जारी गर्ने सरकराको निर्णयको स्वागत गर्नुभयो । अतिक्रमित भूभाग फिर्ता गराउन सरकारलाई संसद र काँग्रेसले के सहयोग गर्नुपर्ने हो सहयोग गर्न तयार रहेको भन्दै उहाँले प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्