नागरिक उन्मुक्ति पार्टीले समय माग्दा सरकार विस्तार रोकियो
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम शुक्रबार रोकिएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले नागरिक उन्मुक्ति पार्टीले शनिबारसम्म समय मागेकाले शुक्रबार मन्त्रिपरिषद् विस्तारको काम रोकिएको बताउनुभयो । शाहीले भन्नुभयो, “नागरिक उन्मुक्तिले भोलि १० बजेसम्मको समय मागेको छ, उहाँहरूको निर्णयपछि मन्त्रिपरिषद् विस्तार हुनसक्छ ।”
शाहीले विस्तार हुनलागेको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये एक जना र नेकपा (माओवादी केन्द्र)बाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आएको बताउनुभयो । माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ ।
यसअघि शुक्रबारै बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराउनुभएको थियो ।
प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पार्टीभित्रको आन्तरिक छलफल र सत्ता गठबन्धन दलसँगको छलफलसमेत टुङ्गिन बाँकी रहेको बताउनुभयो । आफूहरूले दुई मन्त्रालयमा मागेको उहाँले बताउनुभयो ।
गत मङ्सिरको निर्वाचनको नतिजासँगै राजनीतिक समीकरणमा भएको फेरबदलले प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो ।
संविधानबमोजिम एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको थियो । सरकार गठन गर्दा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने समयमा भने असहयोग गर्दा रावल पदमुक्त हुनुभएको थियो ।
त्यपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
फेरिएको राजनीतिक समीकरणसँगै शाहलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) को समर्थन छ । संविधानबमोजिम एक महिनाभित्र प्रदेशसभाबाट उहाँले सजिलैसँग विश्वासको मत पाउनुभएको थियो ।
मुख्यमन्त्री शाहको नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबाहेक अन्य मन्त्रालय नेतृत्वविहीन छन् । कांग्रेसका युवा नेतासमेत रहेका प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालय र नेकपा (एकीकृत समाजवादी) का युवा नेता नरेशकुमार शाहीले आर्थिक मामिला मन्त्रालय सम्हाल्दैै आउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्