भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले सातौ जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पन्जाब किंग्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा राजस्थानले सातौ जित निकालेको हो ।
जितसँगै राजस्थानले शीर्ष चारमा रहँदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ भने पन्जाब प्रतियोगिताबाट बाहिरिएको छ । धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।
पन्जाबका लागि साम करन ४९ रनमा अविजित रहे भने जितेश शर्माले २८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए । यी दुईले पाँचौ विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । त्यस्तै शाहरुख खान २३ बलमा ४ चौका तथा २ छक्काको सहयोगमा ४१ रनमा अविजित रहे भने कप्तान शिखर धवनले १७ रन जोड्दा आउट हुँदा अथर्व ताइडेले १२ बलमा १९ रन वनाए ।
राजस्थानका लागि नवदिप सैनीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र एडम जाम्पाको भागमा समान १-१ विकेट रह्यो । पन्जाबले दिएको १८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।राजस्थानको लागि देवदत्त पडिकलले र यशस्वी जैसवाल अर्धशतकीय पारी खेल्दै क्रमश: ५१ र ५० रन बनाए । यी दुईले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
यस्तै सिमरन हिटमायरले २८ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए भने रियान परागले २० रन जोड्दा धुव्र जुरेल १० रनमा अविजित रहे । पन्जाबका लागि कागिसो रबाडाले २ विकेट लिए भने राहुल चहर, साम करन, नाथन एलिस र अर्शदिप सिंहको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै राजस्थान १४ खेलमा सात जित र सात हारसहित १४ अंक जोड्दै पाँचौ स्थानमा रहँदै प्लेअफ प्रवेशको सम्भावना कायमै रहेको छ भने समान खेलबाट १२ अंक जोडेको पन्जाब प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्