गोठमा आगलागी- चार गाई मरे, बागलुङमा मदिरा खाएको सुरमा आफ्नै घर डढाए
बुधबार राति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मीनारायण चोकको एक गाई फार्ममा आगलागी हुँदा चार वटा गाई जलेर मरेका छन् । केही गाई घाइते भएका छन् ।
खड्ग ढकालले सन्चालन गर्दै आएको पार्ममा बुधबार करिब ९ बजेर २५ मिनेटमा आगलागी भएको र दमकलको सहयोगमा सवा १० बजेतिर नियन्त्रणमा लिइएको बौद्ध प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । क्षतिको पूर्णविवरण पनि आइनसकेको प्रहरीको भनाइ छ ।
उता बागलुङको बडिगाड गाउँपालिकाको एक व्यक्तिले मदिराले मातेर आफ्नै घर जलाएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर हुकुर्थुम डाँडाका शिव भनिने सुरजबहादुर कुमालले लगाएको आगोबाट उनको घर गोठ दुवै पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
कुमाल गाउँमा मदिराले मातेर घरमा आइ श्रीमती राधिका र छोराछोरीलाई कुटपिट गर्न थालेपछि उनीहरु भागेका थिए । परिवारका सदस्यलाई घरबाट लखेटेपछि सुरजले आफ्नै घरमा आगो लगाएको पाइएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले बताए । उनका अनुसार, आगलागीबाट घर गोठ जल्दा २ लाख ४५ हजार बराबरको क्षति भएको छ ।
घरमा आगो लगाएर घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयले घर भित्रैबाट उद्धार गरेका थिए । बुधबार राति ९ बजे लगाइएको आगो प्रहरी र स्थानीयको सक्रियतामा राति ११ बजेपछि मात्रै नियन्त्रणमा लिइएको थियो ।
आफ्नै घर गोठ जलाउने कुमाललाई प्रहरीले नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक न्यौपानले जानकारी दिए । यस वर्ष बडिगाडको वडा कार्यालयको खरको छानो विस्थापित गर्ने कार्यक्रम अन्र्तगत टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिँगो घर गोठ नै जलेपछि कुमाल परिवार बिचल्लीमा परेको छ ।
प्रतिक्रिया राख्नुहोस्